शिव भण्डारी
लन्डन– नेपालको तराईमा मनाइने छठ पर्व बेलायतमा पनि भब्य मनाइएको छ ।
एसोसिएसन अफ नेप्लिज मधेसी इन यूके र यूरोपियन मधेसी सोसाइटीले संयुक्तरुपमा २९ अक्टोबर आइतबारका दिन फेल्थम कम्युनिटी कलेजमा छठ विशेष कार्यक्रम आयोजना गरेको हो । 
एसोसिएसनका अध्यक्ष भाग्यनारायण रायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा नेपाली दूतावासका तृतीय सचिव भूपेन्द्र घिमिरे, एनआरएनए यूकेका महासचिव आर.के. त्रिपाठी यती एसोसिएसनका पूर्व अध्यक्ष उमेशराज मोक्तान ,कार्यवहाक अध्यक्ष शशीधर नेपाल, लगायत नेपाली संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।
पुस्कर पटेलले संचालन गरेको कार्यक्रममा ओम नायकले उपस्थित सम्पूर्णलाइ स्वागत गरेका थिए। डा.सुनिल कुमार शाहाले आफना धारणा राखे । यसपटक १ सय भन्दा बढी मान्छे एक ठाउँमा भेला पारेको थियो । उक्त छठ पर्वमा टिपिकल सांस्कृतिक प्रस्तुति लगायतका मनोरञ्जनले नेपाली गाउँ घरकै मेलाको झल्को दिएको सहभागीहरुले बताए ।
यसै बीच छठ पर्व नेपाल र भारतमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालको विशेष रुपले तराई मधेस क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।
परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुन: अर्घ दिई पूजा विसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
लण्डन छठ पर्व २०१७ स्थलगत भिडियो रिपोर्ट—-






