भारतले नेस्लेको तयारी चाउचाउ म्यागीमाथि प्रतिबन्ध लगायो

नयाँ दिल्ली, २३ जेठ । भारतको खाद्य सुरक्षा नियमक संस्थाले शुक्रबार नेस्लेको लोकप्रिय म्यागी तयारी चाउचाउ परीक्षण गर्दा त्यसमा सिसाको मात्रा आवश्यकभन्दा निकै बढी भएकाले खानका लागि असुरक्षित तथा जोखिमकारी भएको ठहर गरी त्यसको उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ । भारतको खाद्य सुरक्षा तथा स्तर प्राधिकरणले केही राज्यले गरेको परीक्षणमा कानुनमा तोकिएको भन्दा बढी सिसाको मात्रा फेला परेकाले नेस्लेलाई म्यागीको उत्पादन रोक्न आदेश दिने बताएको छ ।
नेस्लेले उक्त आरोपलाई अस्वीकार गरेको छ र उसले आफ्नो चाउचाउ खानका लागि सुरक्षित भएको दाबी गरेको छ । उसले पहिले नै आफ्नो उत्पादनलाई बिक्रीबाट हटाएको घोषणा गरिसकेको छ । एफएसएसएआईले जारी गरेको एक विज्ञप्तिमा नेस्लेलाई उसको तयारी चाउचाउ म्यागीको नौ विभिन्न प्रकारलाई बजारबाट फिर्ता लिन र तिनीहरूको उत्पादन रोक्न आदेश दिएको उल्लिखित छ ।
उसले गरेको परीक्षणमा यो खाद्य पदार्थ स्वास्थ्यका लागि असुरक्षित तथा जोखिमपूर्ण भएको जानकारी दिएको छ । नेस्लले म्यागीमा भएको सिसाको मात्रा कानुनी सीमाभन्दा निकै कम भएको दाबी गरेको छ ।
नेस्लेको प्रमुख कार्यकारी अधिकारी पल बल्कले उत्पादन उपभोगका लागि सुरक्षित भएको दाबी गरेका थिए । उनले नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा सुरक्षाको विषयमा भ्रम हटाउन बजारबाट यस चाउचाउलाई हटाइएको जानकारी दिए । भारतको राजधानीसहित कम्तीमा छ राज्यले यस उत्पादनको बिक्रीमा अस्थायी रूपमा प्रतिबन्ध लगाइएका थिए । अधिकारीहरूले त्यसअघि यसमा सिसाको मात्रा उच्च रहेको बताएका थिए ।
शुक्रबार कोलकतामा कार्यकर्ताहरूले विरोधमा उक्त उत्पादनको पाकेट जलाएका थिए । नेस्लेले गत तीन दशकदेखि म्यागी भारतमा बिक्री गरिरहेको छ भने यस उत्पादनले तयारी चाउचाउको ८० प्रतिशत भाग ओगटेको छ ।