लण्डन । तलब र आफ्नो सेवा सुविधा बढाउनुपर्ने माग राख्दै आन्दोलनरत रेल्वे कर्मचारीको हड्तालका कारण बेलायतको जनजीवन प्रभावित भएको छ ।
बिहीबार सुरु भएको आन्दोलन शनिवार सम्म रहनेछ । ३ दिने हडतालका कारण जनजीवन प्रभावित बनेको हो । कतिपय रुटहरुमा रेल सेवा टप्प रहेका छन् भने सञ्चालनमा रहेका रुटको पनि निश्चित अवधी तोकिएको छ ।
बेलायतका १८ वटा रेलवे कम्पनीका झण्डै ४५ हजार रेल्वे कर्मचारी हड्तालमा उपस्थित छन् । जागिर कटौती, सेवा सुविधा वृद्धि लगायतका माग सहित गरिएको हड्तालका कारण आधा भन्दा बढी रेल लाइन बन्द छन् भने बिहिबार २० प्रतिशतमात्र सेवा सुचारु छ ।
शनिबार करिब ५० प्रतिशत सेवाहरु बन्द हुने बीबीसीले जनाएको छ । शुक्रबार त बसका कामदारपनि हड्तालमा उत्रंदै छन् । रेल, म्यारिटाइम एन्ड ट्रान्सपोर्ट (आरएमटी) यूनियनले आह्वान गरेको हड्तालका कारण हजारौं यात्रुले सास्ती खेपेका छन् । खासगरि कामदार, महोत्सव र लर्ड्समा क्रिकेट टेस्ट म्याच हेर्न जाने दर्शक प्रभावित भएका छन् । यात्रुहरुलाई आवश्यक परेको खण्डमा मात्र रेलयात्रा गर्न भनिएको छ ।






