बेलायतमा गुल्मेली महोत्सब आज हुँदै,’नौमती बाजा देखि राष्ट्रिय कलाकार सम्म अरु के के हुन्छ ?

लण्डन । बेलायतमा रहेका गुल्मेलीहरुको बार्षिक भेला तथा समर भेटघाट कार्यक्रम फार्नबरोमा आइतबार हुँदैछ । गुल्मी जिल्ला समाज युकेले प्रत्येक वर्ष आयोजना गर्दै आईरहेको कार्यक्रम कोरोना महामारीका कारण विगत दुई वर्ष हुन सकेको थिएन ।

यसवर्ष भने भव्य रुपमा गर्ने तैयारी भईरहेको र कार्यक्रमको सम्पूणर् तैयारी पुरा भइसकेको समाजकी उपाध्यक्ष एवम् कार्यक्रम संयोजक मञ्जु भण्डारीले जानकारी दिईन् ।

कार्यक्रममा भाग लिन साउथ इष्ट लन्डन, मिडल्यान्डसहित बेलायतका विभिन्न क्षेत्रबाट कोचहरु रिजर्भ गरेर गुल्मेलीहरु आउने तैयारी गरिरहेको उनले जानकारी दिईन् ।

फार्नबरोको स्यामुएल कोडी स्कुलमा बिहान ११ देखि ८ बजेसम्म कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथिको रुपमा उपस्थित हुँदैछन् ।

कार्यक्रममा गुल्मेली गायिका शन्तिरानी परियारको सागींतिक प्रस्तुतीसगैं,प्रथम नौमती बाजा गुल्मी यूके समूहको पञ्चेबाजाका साथै गुल्मेली झ्याउरे, सालैजो, तीजगीतमा नाचगान, गुल्मेली भजन, अन्य स्थानीय कलाकारका प्रस्तुति लगायतका विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन् ।

सो अवसरमा आकर्षक पुरस्कारसहितको राफल ड्र नेपालबाट भ्रमणमा आएका अभिभावकहरुको सम्मान लगायत कार्यक्रम पनि आयोजना गरिएको बताईएको छ । समाजका अध्यक्ष वीर बलालले विशेषगरी गुल्मेलीहरुको भेला रहेतापनि सबैलाई निमन्त्रणा गरिएको र सबैको उपस्थिति रहने बताए ।

बेलायतमा रहेका गुल्मेली मात्रै नभएर सम्पूर्ण नेपालीहरुको आपसी सम्बन्ध,भाईचारा,आत्मियता बढाउने र कला संस्कृति प्रवद्र्धन गर्ने कार्यक्रम रहेकाले सम्पूर्णलाई उनले उपस्थित हुन आग्रह गरेका छन् ।