मनसुन थापा मगर
लण्डन । नेपालका चर्चित राष्ट्रिय कलाकारहरुको उपस्थितिमा बेलायतमा लोक दोहोरी धमाका साँझ हुने भएको छ ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखा द्वारा आयोजना गरिएको पाँचौं लोक दोहोरी स्वर्णिम साँझको व्यापक तयारी गरिएको हो ।
भोलि जुलाई ३१ तारिक आइतबार दिउसो अल्डरसटस्थित एम्पायर हलमा भब्य रुपमा सम्पन्न हुन गइ रहेको पाँचौं लोक तथा दोहोरी स्वर्णिम साँझको अन्तिम तयारी पूरा भएको प्रतिष्ठानका अध्यक्ष टंक शेरचनले बताए ।

कार्यक्रममा नेपाल देखि आएका चर्चित लोक तथा दोहोरी कलाकारहरु शान्ता रानी परियार, राजन कार्की, अस्मिता डल्लाकोटी, बिलन थापा मगर, भुमिका शाह र विशाल रायमाझी बिच घम्साघम्सी लाईभको मजा लिन सकिनेछ भने लाईभ दोहोरी पश्चात सम्पूर्ण कलाकारहरूको एकल प्रस्तुति समेत रहनेछ, साथै मोडल तथा डान्सरहरू रिना थापा मगर र विपना गुरुङको बेजोड नृत्यका साथै निर आले मगरको हास्यव्यंग्य प्रस्तुति रहनेछ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखा सम्पूर्ण नेपाली हरूको साझा संस्था भएको हुनाले बेलायतमा जतिपनि संघसंस्थाहरु हुनुहुन्छ लगभग सबैलाई औपचारिक रूपमा निमन्त्रणा गरिएको र कसैलाई निमन्त्रणा छुट्न गएमा विभिन्न सामाजिक सञ्जालमार्फत गरिएको बिज्ञापन तथा निमन्त्रणालाई आधार मानेर कार्यक्रममा पाल्नु हुनेछ र कार्यक्रमको शोभा बढाई दिनुहुनेछ भनि यस स्वर्णिम साँझ कार्यक्रमका संयोजक प्रतिष्ठानका प्रथम उपाध्यक्ष लक्ष्मण रानामगरले सबैमा सहभागिताका लागि आमन्त्रण गरेका छन् ।
कार्यक्रममा स्थानीय कलाकारहरूको समेत प्रस्तुती रहने छ भने औपचारिक कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव रत्न शाहीले गर्ने छन् भने सांगीतिक कार्यक्रमको संचालनद्वया कलाकार मनसुन थापा मगर र कल्पना श्रीपालले गर्ने भएका छन्।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाले बेलायत र नेपाल कलाकारलाई एकै ठाउँमा जुटाएर सांगीतिक कार्यक्रम गरेर प्रसंसनिय कार्य गर्दै आएको छ ।






