मुस्लिम धर्मावलम्बी आज बकर ईद मनाउँदै

काठमाण्डौ । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर ईद अर्थात् इदुल जोहा आज हर्षोल्लासका साथ मनाइँदै छ ।

इदुल फित्र अर्थात् रमजान पर्व मनाएको ७०औँ दिनमा बकर ईद मनाउने परम्परा रहेको छ । मुस्लिम धर्मावलम्बीहरूले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढ्ने गरेका छन् भने एकआपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरेर यो पर्व मनाइन्छ ।

बकर ईदको अवसरमा काठमाडौँको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीहरूको भीड लागेको छ ।

हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले बताए । बकर ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदको अवसरमा शुभकामना व्यक्त गरेकी छिन् । उनले बकर ईदको अवसरमा शुभकामना दिँदै बकर इद संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएकाले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउन आग्रह गरिन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले पनि बकर ईदको अवसरमा शुभकामना दिँदै विभिन्न समुदायका चाडवाड, रीतिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको बताएका छन् । उनले भाइचारा र पारिवारिक मिलनको रूपमा मनाइने इस्लाम धर्मवलम्बीहरूको महान् पर्व इद-अल-अधाले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ गर्ने विश्वास व्यक्त गरे ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले यस पर्वले सबै नेपालीलाई आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकास गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । बकर इद धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने पर्व भएको उल्लेख गर्दै प्रधामन्त्री देउवाले यस पर्वले एकआपसमा खुसी र सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन् ।