नेपाली दुतावास डेनमार्कको घुम्ती शिविर : २०० जनाले लिए सेवा

हेल्सिन्की । नेपाली दुताबास डेनमार्कले घुम्ती शिविर सञ्चालन गरेको छ । फिन्ल्यान्ड, नर्वे र स्विडेनमा रहेका नेपालीहरुकालागि लक्षित गरी ७ दिने घुम्ती शिविर सञ्चालन गरिएको हो ।

जुलाई २ तारिख शनिबार देखी शुरु भएको शिविर स्विडेनमा २ दिन र फिन्ल्यान्डमा ३ दिन सन्चालन भईसकेको छ भने नर्वेमा २ दिन सन्चालन हुनेछ ।

जुलाई ४ देखी ६ सम्म फिन्ल्यान्डको राजधानी हेल्सिन्कीमा सम्पन्न शिविरमा करिब २०० जनाले सेवा लिएका छन् । उनीहरुले राहदानीका लागि आवेदन दिएको नेपाली दुतावास डेनमार्कले जानकारी दिएको छ ।

नेपाली दूतावासको कार्यक्षेत्रका मुलुकमा गइ त्यहाँ रहेका नेपालीहरूलाई राहदानी लगायतका सेवा प्रदान गर्ने योजना अनुरूप घुम्ती सेवा उपलब्ध गराईएको दुतावासका कार्यवाहक राजदुत तिर्थराज अर्यालले बताए । शिविरमा दुतावासले नयाँ आवेदन प्रत्यक्ष दर्ता, नविकरण, पुरानो आवेदन मार्फत तयारी राहदानी वितरण, वारेस नामा, भिषा जारी तथा परामर्श सेवा प्रदान गरेको अर्यालले जानकारी दिए ।

“विद्युतीय राहदानी (ई-पासपोर्ट) आवेदनको लागि तयार पारिएको मोबाईल किट मार्फत सेवा सन्चालन गरेका छौ“, अर्यालले भने, “ सेवाग्राही उच्च चापको बावजुत पनि सबैलाई सेवा प्रवाह गर्न सफल भयौँ ।“

नेपालमा विद्युतीय राहदानीका लागि आवेदन दिनका लागि सम्भवतः पहिलो पटक सञ्चालित घुम्ती सेवामा छिटफुट रुपमा सामान्य समस्या आए पनि नेपाल स्थित राहदानी बिभागको समन्वयमा तथा प्राविधिक सहयोगमा समस्या समाधान गर्दे सेवा सन्चालन गरिएको थियो ।

दुतावासले आफुहरु भएकै ठाउँमा आएर सेवा दिएकोमा सेवाग्राहीहरु पनि खुशी भएका थिए । घुम्ती सेवाले यहाँ रहेका नेपालीलाई धेरै सहज बनाएको र स्थानिय रुपमा दुतावाससँग समन्वय गरेर सेवा प्रदान गर्ने कार्यमा जोडीन पाउँदा आफुहरुलाई पनि खुशी लागेको फिन्निश-नेपाली समाजका अध्यक्ष नबिन भट्टराईले बताए ।

शिविरमा कार्यवाहक राजदुत अर्याल उपस्थित भएर सेवा प्रदान गरेका थिए भने फिन्ल्यान्डमा स्थानिय रुपमा फिन्निश-नेपाली समाज र एनआरएन फिन्ल्यान्डले समन्वय गरेका थिए । फिन्ल्यान्डका लागि छुट्याईएको ३ दिन मध्य १ दिन अन्तरक्रियाका लागि छुट्याईएको भए पनि सेवा सेवाग्राहीको अत्याधिक चापका कारण ३ दिननै सेवा प्रदान गरिएको थियो ।

यस पटक नयाँ आवेदन दिनु पर्ने, पुरानो राहदानीको म्याद १ वर्ष भन्दा कम हुन गइ नविकरण गरिसक्नुपर्ने भएका, हराएका र सच्याउनुपर्ने जस्ता अत्यावश्यक सेवा लिनु पर्नेहरुलाई प्राथमिकता दिईएको भएपनि सेवाग्राहीहरुको सुविधालाई ध्यान दिई आगामी दिनमा नियमित रुपमा घुम्ती सेवा पुनः सन्चालन गर्ने दुतावासले जनाएको छ ।