जनकपुुरधाम । धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको झण्डै एक करोड नेपाली रुपैयाँसहित दुईजना पक्राउ परेका छन् ।
धनुषाको जनकनन्दनी गाँउपालिका-५ उदाह बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
मंंगलबार दिउँसो जनकनन्दनी १ इनरुवा चेक प्वाईन्टको सीमा ईलाकामा आलुको बोराभित्र आलुसँगै नगद राखेर ल्याउँदै गरेको स्राेत नखुलेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँसहित उनीहरुलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल-८ गणले जनाएको छ ।
भारतबाट आएको ज७प ५००७ नम्बरको मोटरसाइकलमा आलुको बोरा लिएर आइरहेका उनीहरुमाथि शंका लागेपछि प्रहरीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा उक्त नगद भेटिएको हो ।
पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नगद र मोटरसाइकलसहित जिल्ला भन्सार कार्यालय जनकपुरमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।






