मकै बेच्ने दम्पतीलाई कारवाही गर्न भन्दै काठमाण्डौ महानगरले दियो प्रहरीमा निवेदन

काठमाडौं । बालुवाटार र महाराजगञ्ज क्षेत्रका फुटपाथमा मकै बेच्ने आचार्य दम्पतीलाई कारबाही गर्न भन्दै काठमाण्डौ महानगरपालिकाले प्रहरीमा निवेदन दिएको छ ।

शुक्रवार मकै बेच्ने क्रममा फुटपाथ अतिक्रमण गरेको भन्दै नगरप्रहरीले कारबाही गर्दा प्रतिवाद गरेका चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पतीमाथि कारवाही गर्न महानगरी प्रहरी वृत्त महाराजगञ्जलाई पत्र लेखेको महानगरपालिकाले जनाएको छ ।

नगरप्रहरीले ठेला उठाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाईरल बनेको थियो । उक्त भिडियो सार्वजनिक भएसगैं महानगरपालिकाको आलोचना भएको छ । कतिपयले महानगरको कदमको स्वागत पनि गरेका छन् ।

काठमाडौं महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटा आचार्य दम्पतीले प्रहरीमाथि गरेको दुव्र्यवहारलाई वयान गर्दै सञ्चारमाध्यममा दिएका अभिव्यक्ति नै उद्धरण गरेर पत्र लेख्दै प्रहरीलाई कारवाही अघि बढाउन अनुरोध गरिएको बताए ।

प्रहरीलाई अगुल्टोले हानेको, चिम्टाले घोचेको लगायतका कुरा उनीहरुले नै मिडियामा भनेको र त्यही कुरा लेखेर आवश्यक कारवाही गर्न निवेदन दिएको उनले बताए ।

चेतेन्द्र र सीता दम्पतीले भने नगर प्रहरीले घुस मागेको आरोप लगाएका छन् । घुस माग्न गएका नगर प्रहरीलाई बुधबार अगुल्टोले हानेको आचार्य दम्पतीले पनि स्वीकारेका छन् । प्रहरीले उनीहरुलाई पक्राउ गरेर अभद्र व्यवहार वा अन्य फौजदारी अभियोगको मुद्दा चलाउन सक्ने देखिएको छ ।

नगर प्रहरीका सब इन्स्पेक्टर -सई) राजन श्रेष्ठमाथि दम्पतीले ५ हजार रुपैयाँ घुस मागेको भनेर लगाएको आरोपबारे भने महानगरपालिका भने नरम छ ।