चितवनका ५० हजार परिवार बाढीको जोखिममा

भरतपुर। जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्सातका कारण प्रभावित बन्ने छन् ।

बाढीबाट भरतपुर महानगरपालिका बढी प्रभावित हुने देखिएको छ । भरतपुर महानगरपालिकामा ३० हजार परिवार प्रभावित बन्ने अवस्था रहेको लुइँटेलले जानकारी दिए ।

यस्तै, माडी नगरपालिकाका चार हजार ५०० परिवार, रत्ननगरका पाँच हजार, कालिका नगरपालिकाका एक हजार ५०, खैरहनी नगरपालिकाका ३२० र राप्ती नगरपालिकाका ११ परिवार प्रभावित हुने अवस्था छ ।

यसैगरी पहिरोका कारण भरतपुर महानगरपालिकाका ३००, कालिकाका १००, राप्तीका २०० तथा इच्छाकामना गाउँपालिकाका १२५ परिवार प्रभावित बन्ने अवस्था रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।