सरकार छाड्ने कुरा हल्लामात्र : गृहमन्त्री बस्नेत

shakti basnetझापा- गृहमन्त्री शक्तिबहादुर बस्नेतले शान्ति, समृद्धि र सुशासनयुक्त समाज निर्माण गर्नु नै सरकारको पहिलो काम भएको बताएका छन् ।

झापाको बिर्तामोडमा क्रान्तिकारी पत्रकार सङ्घले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री बस्नेतले मुलुकमा शान्ति, समृद्धि र सुशासन नभई देशको विकास नहुने हुँदा सरकार अहिले त्यही विषयमा केन्द्रित रहेको बताए ।

बितेको तीन महिना सरकार कामको तयारीमा लागेकाले अब परिणाम देखिने र अनुभूति हुने गरी सरकारले काम गर्ने गृहमन्त्री बस्नेतले बताए ।

एक फरक प्रसङ्गमा संविधानको संशोधनबाट मधेसी मोर्चाको माग मूलरुपमा सम्बोधन भइसकेकाले अब आन्दोलनको जरुरी नरहेको उनको भनाइ छ । मधेसी मोर्चाले उठाएको सीमाङ्कनको विषय राजनीतिक संयन्त्रमा हुने छलफलबाट टुङ्ग्याइने उनले बताए ।

राजनीतिक संयन्त्रले निकालेको निष्कर्षलाई संवैधानिक मान्यता दिई संवैधानिक व्यवस्थामार्फत सीमाङ्कनको विषय टुङ्गिने उनको भनाइ थियो ।

गृहमन्त्री बस्नेतले संविधानले सबैको भावना समेटेको र पछि उठ्ने आवाज समेट्नका लागि पनि संविधानमै समयानुकूल संशोधनको व्यवस्था गरिएकाले अब मुलुकमा कसैले हतियार उठाउनु र आन्दोलन गर्नु आवश्यक नरहेको बताए ।

केही दिनमै नाका पूर्णरुपमा खुलेर आपूर्ति व्यवस्था सहज हुनुका साथै अहिले देखिएको कालोबजारी र तस्करीको अवस्था अन्त्य हुने उनको कथन थियो ।

एकीकृत नेकपा माओवादीका नेतासमेत रहेका गृहमन्त्री बस्नेतले पत्रकारको जिज्ञासामा आफ्नो पार्टीले सरकार छाड्ने भन्ने कुरा सडक हल्लामात्र भएको बरु सरकारलाई प्रभावकारी बनाउन लागिपरेको बताए ।