बेलायतको गुम्बामा प्रवेश गर्ने पहिलो मन्त्री पौडेललाई बिसीसीले गर्र्यो भब्य स्वागत

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले नेपालका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्रराज पौडेललाई स्वागत गरेको छ । उनी बिसीसी यूके गुम्बामा प्रवेश गर्ने पहिलो नेपाली मन्त्री हुन् ।

गत २५ मे बुधबार बिसीसी यूकेको अल्डरसटस्थित गुम्बामा मन्त्री पौडेललाई बिसीसी यूकेका अध्यक्ष धर्म तामाङले स्वागत गरेका हुन् ।

सो अवसरमा मन्त्रीसंगै नेपालबाट आएका उनका पीए राजेन पौडेल र नेपाली जन प्रगतिशिल मन्च यूकेका मानबहादुर गुरुङलाई पनि खादा लगाई स्वागत गरियो ।

शिक्षा सम्बन्धी एक विशेष कार्यक्रममा बेलायत आएका मन्त्री पौडेलले बेलायतस्थित नेपाली संघसंस्थाहरुसंग भेटघाट गर्ने क्रममा बिसीसी यूकेको अल्डरसटस्थित गुम्बा भ्रमण गरे ।

बिसीसी यूकेका धर्म गुरु खेन्पो कुन्ख्याप, लोपेन नोर्बु, कार्यसमिति, आमा समूह, सल्लाहकारलगायत भक्तजनहरुको विशेष उपस्थितिमा स्वागत गरिएको थियो ।

सो अवसरमा मन्त्री पौडेलले बौद्ध शिक्षाबारे बोल्दै विदेशी भूमिमा बिसीसी यूकेले बौद्ध गुम्बा स्थापनाको प्रशंसा गरेका थिए ।

त्यस्तै, बिसीसी यूकेका अध्यक्ष धर्म तामाङले मन्त्री पौडेलको स्वागत गर्दै बिसीसी यूके गुम्बाले गर्दै आएका विभिन्न कार्यक्रम, सेवा र च्यारिटीमूलक कार्यहरुबारे जानकारी गराएका थिए । सो अवसरमा धर्म गुरुहरुले सबै मानवजातिको सुख, समृद्धिका लागि पूजापाठ गरेका थिए ।

बिसीसी यूके अध्यक्ष धर्म तामाङको अध्यक्षतामा सम्पन्न उक्त स्वागत कार्यक्रम महासचिव क्याप्टेन देव घलेले सञ्चालन गरेका थिए ।