प्रचन्ड पत्नी सितालाई ज्वालाको मार्मिक पत्र !!

ज्वाला संग्रौला ,

सीता आमा, तपाईँ पनि सारै अभागी। क्यान्सरले छोरीलाई लग्यो, नियतिले हट्टाकट्टा पुत्र खोस्यो ।जवान छोराछोरी गुमाउँदाको पीडा एउटी आमाले बाहेक अरु कस्ले पो बुझ्न सक्ला र? सन्तानको बियोगमा हजुर बिरामी परेर सिँगापुरमा उपचार गराउँदै हुनुहुँदो रहेछ, सीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

आमा, केहि मान्छेहरु भन्दैछन् , मानविय संबेदनालाई टेकेर ब्यक्तिगत स्वार्थ पुर्तीको लागि जनता को रगत सँग होली खेल्ने , कैयौं हजुरजस्तै आमाका सन्तानहरुलाई जिउँदै गाड्नेसँग के को सहानुभुती?गरीब जनताका छोरा-छोरीका हातखुट्टा बाँधेर रुखमा उभिण्डो पारेर झुण्ड्याएर औंलादेखि काट्दै घाँटीमा पुर्याएर खुकुरी बिसाउन लाउने प्रचन्ड दाम्रेडलाई के को बिचरा?यी मान्छेहरु के बोल्दैछन् मलाई थाहा छैन आमा तर एउटा कुरा चैं मलाई याद छ कि कुर्सी, सत्तामोह, र राजनैतीक स्वार्थ पुर्ती गर्न भावना र मानवीय संबेदना हुँदैन भन्ने कुरो यहाँहरुको परिवारले नै सिकाको होइन र? सत्तालिप्सा र अकुत सम्पत्ती जोड्ने धुनमा अल्मलिन पाए जनता को त के, आफ्नै सन्तान को समेत परवाह नगर्ने प्रचण्डसँग तपाईँको जीवन बिताउने साहसलाई सलाम छ आमा।

नबोलौं भन्दापनि बोलौं बोलौं बनाएको छ आज मलाई बिगतको इतिहाँसको रक्तरंजित एक अध्यायले।सीता आमा,सहानुभूति  पक्कै छैन होला ति “आमा” हरुलाई जस्ले आफूले खाईनखाई हुर्काएका जवान, किशोर छोरा-छोरीलाई जीउदै गाडीएको थियो!मानवता पक्कै जाग्दैन होला ति जनयुद्दमा बलात्‍कृत चेलीहरुलाई जस्को जीवनै बरबाद भो।धनयुद्धका नायकहरुको कमाण्डिङमा छातीमा बन्दुकको नाल गाडेर देशमा परिवर्तन ल्याउन युद्दमा होमिएका ति अयोग्य लडाकुहरुलाई कतिपनि पीर लाग्दैन होला जो आज न त समाज का भए न त जनबादी नेकपा सरकारका!पक्कै लाग्दैन होला खिन्नता खाडीमा बेल्चा चलाऊन वाध्य बनाईएको बिपन्न परिवारको “युवा” लाई, जो सन्तानको भबिष्यका खातिर युद्दका बेला ज्यान गुमाएको बाबुको सपना पुरा गर्न आज बिदेशमा आयु बेचिरहेछ।

लेखिका ज्वाला संग्रौला
लेखिका ज्वाला संग्रौला

दाम्रेडहरुले देखाएको परिवर्तनको सपनामा लोभिएर बन्दुक उठाएको इमानदार लडाकुलाई आज मृत्युपश्चात पनि आफ्नो “कमाण्डर” प्रती मानवीय समबेदना पक्कै आउँदैन होला जो युद्दताका जंगलमा “ पानी पानी” भन्दै आफ्नै रगतले नुहाएर संसार छोडेको थियो।हो , यि ज्यान गुमाउने सन्तानका हजारौं आमाहरु  अहिले दुर्गम गाँउको बिकट कुनामा रोगले थलिएर कसरी बसेका होलान् है? हजुर त बरु अहिले रोगले थलिएकै भएपनि सिंगापुरका स्वीमिंग पुलमा बिदेशी सुसारे सहित पौडी खेल्दै हुनुहुन्छ। युद्दका बेला मारिएका सन्तानको पीडामा आँशुमा पौडीरहेका गाँउका गरीब आमाहरुलाई कस्ले देख्छ सीता आमा? एसएलसीको रिज़ल्ट लिन गएको १५ बर्षे रहरलाग्दो छोरोलाई तत्कालीन माओबादीका गुरिल्लाले समाएर अनाहकमा घाँटी रेटेको पीडामा काठमाण्डौको टिचिंग अस्पतालमा अझैपनि न्यायको लागि लडिरहेकी गंगामाया अधिकारीलाई कस्ले उठाउँछ आमा? अझ उनका श्रीमान त अनसनमै प्राण त्यागेर टिचिंग अस्पलातको १८ नंबर फ्रिजमा जमिरहेका छन्।

पीडा सबैलाई एउटै हो , तर जनताका पीडामा दल्ने मलम हुन्न , नेताका त पीडाले पनि यहाँ तलब भत्ता र सुबिधा पाउँछ। युद्दमा मारिने१७ हजार त जनता पो हुन् त। ठूला नेता त कोहि मारिएनन् नि? खोई जनतालाई न्याय?यतिबेला तपाईँ बिमार हुनुहुन्छ, यस्तो कुरा गर्न मलाई नसुहाउनु पर्ने हो तर मलाई माफ गर्नुहोला आमा,कैयौ को कोख उजाडेको “जनयुद्ध” का नाइके को पनि आज कोख उजाडिएको छ र आज एउटी आमा छोरो र छोरी गुमेकोमा सारै थाकेकी छिन्।

हिजो काख उजाडिएको निरिह,असहाय ती गंगामायाको पीडा र सम्पत्ती र सत्ताको लोभले अन्धो बनेका राजनैतिक बाबुका सन्तानकी यी सीता आमाको पीडा उस्तै उस्तै लाग्छन् मलाई।त्यसैले अब सीता आमाले सिँगापुरमा उपचार गराएर छिटो बिसेक हुनु र काठमाण्डौको टिचिंग अस्पतालमा थलिएकी गंगा आमालाई गएर भेट्नु।नत्र भने प्रचण्डहरुले बिचरा ती गंगामाया लाई बीर अस्पतालमै सडाएर मार्ने भए आमा..!!