काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले सरकारले नागरिकको अधिकारलाई सुरक्षित गर्न काठमाडौंलगायत देशका विभिन्न स्थानमा विरोध प्रर्दशन गर्न रोक लगाउनु परेको स्पष्ट पारेका छन् । गृहमन्त्री थापाले विभिन्न स्थानमा रहेका सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्न पनि सरकारले काठमाडौंको विभिन्न स्थानमा विरोध प्रर्दशन गर्न रोक लगाइएको बताएका छन् ।
काठमाडौं विरोध प्रर्दशनका लागि निषेधित गरेको स्थानलाई लिएर प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका भातृ संगठनहरुले सरकारको चर्को आलोचना गरिरहेका बेला उनले नागरिकको जीउ, धनको सुरक्षाको लागि पनि यसो गर्नु परेको तर्क गरे ।
‘सवारी आवागमनका कारण हुने दुर्घटनाबाट बचाउन काठमाडौंको माईतीघर मण्डलालाई विरोध प्रर्दशन गर्न निषेध गरिएको छ’ बिहिबार गृह मन्त्रालयमा सञ्चारकर्मीमाझ उनले भने । सरकारले नागरिकको अधिकार हनन् हुन नदिने गरी विरोध प्रर्दशनका लागि स्थान तोकिदिएको पनि मन्त्री थापाले बताए ।
गृहमन्त्री थापाले कुनै स्थानमै विरोध प्रर्दशन गर्न पाउनुपर्ने हठवादी सोच नराख्न पनि सम्बन्धित पक्षलाई सचेत गराए । नागरिकको अधिकारलाई सुरक्षित गर्न सरकारले स्थान तोकैरै विरोध प्रर्दशन गर्ने अधिकार सुरक्षित गरि दिएको गृहमन्त्री थापाको भनाई छ ।






