गुल्मीमा विपन्न परिवारका २४ वर्षीय दलित युवाले जिते वडाध्यक्ष

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा दलित समुदायका २४ वर्षीय एक युवा पहिलोपटक दलित समुदायबाट त्यस वडाको वडाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

वडा नम्बर- ८ साविक वामी गाविसका २४ वर्षीय रमेश रसौली (बिक) त्यस वडाका निवर्तमान वडाध्यक्ष, एमाले उम्मेदवार नारायण सापकोटालाई ६९ मतले पछाडि पार्दै दलित समुदायको पहिलो वडाध्यक्ष हुन सफल भएका हुन्।

बिकले ५९३ मत ल्याएर विजयी भएका हुन् भने सापकोटाले ५२४ मत ल्याएर पराजय भोगेका हुन् । विपन्न परिवारका २४ वर्षीय रसौली (वि.क) ले पैसाविना पनि चुनाव जित्न सकिन्छ भन्ने उदाहरण दिएका छन्।

गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका उनी नेपाली काँग्रेस निकट नेपाल दलित सघं मुसिकोट नगर सभापति समेत हुन् ।

चुनावी प्रचारको सुरुवाती दिनमा विगत ३५ वर्ष देखि नेकपा एमालेको लालकिल्ला रहेको वडा न.८ तथा साविक वामी गाविसमा अाफुले चुनाव जित्न नसकेपनि एमालेलाई सवक सिकाउने मात्रै लक्ष्य बोकेको बताउने रसाईली आइतबार दिउँसो एकाएक उनको पक्षमा मत परिणाम आउन थाले पछि हर्ष बिभोर देखिन्थे ।

घोषणासभामा लौरो टेकेर उभिएका साविक वामी गाविसका समाजसेवी ७४ वर्षीय सालिकराम सापकोटाले तत्कालिन मुसिकोट राज्य र साविक मुसिकोट अन्तर्गतका वर्तमान वडाहरुमा दलित समुदायबाट प्रमुख पदमा विजयी हुने रसाईली पहिलो दलित युवा भएको भन्दै हर्ष प्रकट गरे ।