आज २५ सय ६६ औँ बुद्ध जयन्ती, लुम्बिनीमा विशेष कार्यक्रम गरिँदै

रुपन्देही । आज २५ सय ६६ औँ बुद्ध जयन्ती, विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । बुद्ध पूणर्िको दिनको रुपमा परिचित आजको दिनलाई विशेष बनाउनका लागि लुम्बिनीमा कार्यक्रमको आयोजना गर्न लागिएको छ ।

बुद्ध जयन्तीकै अवसर पारेर शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गरी बृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा लाग्न सबैलाई आग्रह गरेकी छिन् । उनल बुद्धका उपदेशको पालना गरेर हरेक व्यक्ति, समाज र विश्व समुदायका बीचमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजान सकिने बताईन् ।

राष्ट्रपति भण्डारीले समकालीन विश्वमा गौतम बुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको कुरा उल्लेख गरिन । उनले सम्पूणर् मानव सभ्यतालाई शान्ति र अहिंसाको मार्गदर्शन गर्ने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको सन्देशमा उल्लेख गरिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिएका छन् । उनले गौतम बुद्धले दिनुभएको शिक्षा र सन्देशलाई व्यावहारिक जीवनमा उतारी जीवनलाई सुखमय र शान्तिमय बनाउनुपर्ने बताए । उनले बुद्धका उपदेशको पालना गरेर समाजलाई समुन्नत बनाउनेतर्फ लाग्न सबैलाई आग्रह गरे ।

प्रधानमन्त्री देउवाले बुद्धका उपदेश अहिले पनि मानव जातिका लागि उत्तिकै सान्दर्भिक, उपयोगी र शाश्वत भएकाले मानव जीवनलाई उत्कृष्ट बनाउन बुद्धका अर्ति उपदेशलाई व्यवहारमा उतार्न जरुरी भएको कुरा सन्देशमा उल्लेख गरे ।