लुम्बिनी । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन हुने भएको छ । बनेको सात दशकपछि सञ्चालनमा आएको विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वैशाख १५ मा परीक्षण उडान गरिएको थियो । प्रधानमन्त्री देउवाले आज औपचारिक उद्घाटन गरेपछि राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो विमानस्थल विधिवत् सञ्चालनमा आउनेछ ।
बुद्व जयन्तीका अवसरमा उद्घाटन हुन लागेको यस विमानस्थललाई लुम्बिनी प्रदेशसहित देशकै समृद्विको ढोकाका रूपमा हेरिएको छ । विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार कुवेतबाट आउने जजिरा एयरवेज र काठमाडौँबाट जाने नेपाल वायुसेवा निगमको न्यारो बडी (३२०)को विमानलाई स्वागत गरेर विमानस्थलको औपचारिक उद्घाटनको तयारी छ ।
यसअघि वैशाख १५ गते निगमको वाइड बडी (३३०) विमानले भैरहवा विमानस्थलमा डेमन्स्ट्रेसन उडान सम्पन्न गरेको थियो । विमानस्थलको उद्घाटनपछि बोइङ तथा एयरबसका जहाज गौतमबुद्व विमानस्थलमा उडान र अवतरण गर्न सक्ने महाप्रबन्धक दाहालको भनाइ छ ।
विमानस्थल उद्घाटनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कणर्को संयोजकत्वमा समिति गठन भएको थियो ।
उक्त समितिले उद्घाटन व्यवस्थापनको जिम्मा इभेन्ट म्यानेजमेन्ट कम्पनीलाई दिएको छ ।
तीन हजार मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग रहेको यो विमानस्थल तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सुरुवाती लक्ष्यअनुसार तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ सालमा शिलान्यास गरेका थिए । आर्थिक वर्ष २०७२/७३ देखि निर्माण सुरु भएको यो विमानस्थल एसियाली विकास बैङ्कको सहुलियतपूणर् ऋणमा करिब ३१ अर्ब रुपियाँको लागतमा निर्माण सम्पन्न भएको हो ।






