लन्डन। नेपालीहरुको निक्कै बाक्लो बसोबास रहेको दक्षिण पूर्वी लण्डनमा नेपाली मूलका उम्मेदवार जीत रानाभाट काउन्सिलरमा निर्वाचित भएका छन् ।
बेलायतको रोयल बरो अफ ग्रीनवीचको प्लमस्टिड एण्ड ग्लिन्डन वडामा लेबर पार्टीबाट नेपाली मूलका उम्मेदवार काउन्सिलरमा जीत रानाभाट पहिलो पटक निर्वाचित भएका हुन् ।
उक्त वडामा तीन काउन्सिलरका लागि दश उम्मेदवारबीच भएको प्रतिस्पर्धामा रानाभाटसंगै अन्य दुई पनि लेबर पार्टीकै उम्मेदवार विजयी भएका छन् ।
मत परिणामअनुसार रानाभाटले २ हजार तीन सय १९ मतसहित मत प्राप्त गरेका छन् । उनीसँगै सो वडाबाट सोही पार्टीका अरु दुई उम्मेदवारहरु पनि निर्वाचित लेबर पार्टीकै अडेल खैरेहले २ हजार ४१५ र सान्द्रा थोमस २ हजार ४४० मत ल्याएर विजयी भए । उनीहरुको निकटतम प्रतिद्वन्द्वी कन्जरभेटिभका उम्मेदवार माइकल डाउडले ५२७ मत ल्याए भने अरु उम्मेदवारहरुले ५०० मत पनि कटाउन सकेनन् ।
बिजय भएपछि लण्डन न्यूज नेपालसगं कुराकानी गर्दै रानाभाटले आफुलाई विश्वास गरेर विजयी बनाउन सहयोग गर्ने सम्पूणलाई धन्यवाद दिदै ग्रीनीचबासी तथा नेपाली समुदायको हीतका लागि हरदम प्रयासरत रहने बताए ।
रानाभाट,को हुन् उनी?
सन् २००८ मा बेलायत आएका रानाभाट अहिले सपरिवार सहित साउथ इस्ट लण्डनमा बसोबास गर्दछन् । सामाजिक र संस्थागत कार्यमा सक्रिय उनले बेलायत स्थित थुप्रै नेपाली सघंसंस्थामा काम गरिसकेका छन् । एनआरएन युकेको २०१७-१९ सम्म कार्यसमिति सदस्य रहेर काम गरेका उनले सन् २०१९-२१ मा सचिव पदमा रहेर काम गरेका थिए । उक्त संस्थामा रहँदा नयाँ कार्यशैली र भिजन सहित जिम्मेवारीमा रहेका उनले संस्थाको व्यापार प्रबर्द्धन विभागको संयोजकको समेत जिम्मेवारी पाएका थिए ।
कोरोना संक्रमणका बेला उनले गरेको कामको विशेष प्रशंसा समेत भएको थियो । महामारीको समयमा समस्यामा परेका नेपाली समुदायलाई सहयोग गर्न एनआरएन यूकेले चलाएको हेल्पडेस्कमा संयोजकको भूमिका रानाभाटले लिएका थिए । कोभिड महामारीमा गरेको सहयोगको कदर गर्दै रानाभाटलाई बीबीसी रेडियो लन्डनले ‘मेक अ डीफरेन्स हिरो’को रुपमा कदर गरेको थियो । आरजीएनएसको कोभिड सहायता र जनगणना अभियानमा पनि उनले सयोंजक भएर सकृय भूमिका निर्वाह गरेका थिए ।
आफ्नै व्यवसाय गर्दै आएका रानाभाटले नेपालको पोखरा युनिभर्सिटीबाट एमफिलसम्मको अध्ययन गरेका छन् । सामाजिक कार्यमा क्रियाशिल रानाभाट नेप्लिज प्रोफेसनल्स युके , यती नेपाली एशोसिएसन, क्षेत्री समाज युके, पशुपतिनाथ मन्दिर लगायतका अन्य थुप्रै संघ संस्थामा नेतृत्व तहमा रहेर काम गरिसकेका छन् ।






