निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली आज सार्वजनिक हुँदै

काठमाण्डौ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली आज सार्वजनिक गर्दैछ ।

हिजो नामावली सार्वजनिक गरेको आयोगले आज दिनभरी उम्मेदवारी फिर्ता लिन समय दिएको छ । उम्मेदवारी फिर्ता लिन चाहनेहरु बेलुकी ५ बजेसम्मको निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ ।

त्यसपछि भने आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । पार्टीले तय गरेका उम्मेदवारप्रति असन्तुष्ट जनाउँदै ठाउँठाउँमा सत्ता गठबन्धनदेखि विपक्षी दलसहित दलका स्थानीय नेता कार्यकर्ताहरूले गत आइतबार र सोमबार आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिएका छन् ।

राजनीतिक दलहरूले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन दबाब दिँदै आएका छन् ।जसले गर्दा आधिकारिक उम्मेदवारलाई जिताउन चुनौती हुने दलहरूको ठम्याइ छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मापौडेलले तोकिएको अवधिमा फिर्ता लिनेबाहेकका अन्तिम नामावली आजै प्रकाशित गर्ने बताए । त्यसपछि भोलि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने उनले जानकारी दिए ।