लन्डन– एनआरएनए यूके महिला फोरम सहसंयोजक इशा गुरुङले पोखराकी अभिनेत्री नेहा पुनका हत्यारालाई कडा कारबाही गर्न माग गर्नुभएको छ ।
गुरुङले नेपालमा बलात्कारीलाई कडा सजाय दिने कानुन निर्माण गर्न पनि अपिल गर्नुभयो । ‘पोखराजस्तो सुन्दर सहरमा नेहा पुन जस्तो कलिलो १९ वर्षीय बहिनीमाथि जसरी बलात्कारपछि हत्या गरिएको छ,’ गुरुङले भन्नुभएको छ, ‘ती अपराधीलाई कडाभन्दा कडा सजाय र फाँसी होस् ।’
गुरुङले मृतक अभिनेत्री पुनको चिरशान्तिको कामना गर्नुभएको छ ।
१९ बर्षीय पुनको माघ १८ गते पोखरामा हत्या गरिएको थियो ।
स्थानिय चलचित्रमा समेत काम गरेकी नेहाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले पोखरा न्यूरोडका सतीश खड्गीलाई पक्राउ गरेको छ । सतीशले हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् ।
घटना अनुसार सतीश राती नेहालाई उनको घर पुर्याउन सँगै गएका थिए । पोखरा लेकसाइड हुँदै नेहाको घर गएका उनिहरुबिच घर नजिक पुगेपछि विवाद भएको थियो ।![12662620_1189145267780275_4377947877023627431_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/02/12662620_1189145267780275_4377947877023627431_n1.jpg)
नेहालाई बाटोमा यौन सम्पर्कको प्रस्ताव गरेका थिए ।
नेहाले सतीशको प्रस्ताव अस्वीकार गरिन् । सतीशले जर्वजस्ती गर्न थालेपछि नेहाले सतिशलाई जथाभावी गालि गरेकी थिइन् । गाली गरेपछि जथाभावी मुख छाड्छेस् भन्दै नेहामाथि खनिएका सतिशले उनको टाउकोमा हेल्मेटले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भनिएका पोखरा–९ नयाँबजारका २१ वर्षीय सतिश भन्ने कृतन खड्गीलाई सार्वजनिक गरेको हो ।
हत्याको विरोधमा पोखरा, काठमाडौंसहित प्रमुख सहरमा प्रदर्शन गरिएका छन् । काठमाडौंमा चर्चित अभिनेत्रीहरुको अगुवाईमा प्रदर्शन र दीप प्रज्वलन गरिएको थियो ।






