पोखरा । बलात्कारको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका अभिनेता पल शाहलाई थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन परेको छ ।
पलका कानुनी सहयोगीले मङ्गलवार उच्च अदालत पोखरामा तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गरेका हुन् । जिल्ला अदालत तनहुँले शाहलाइ पुर्पक्षका लागि थुनुवामा पठाउन आदेश दिएको थियो ।
अर्का प्रतिवादी कृष्ण जोशीलाई १ लाख धरौटीमा छोड्ने आदेश दिएको थियो । यस्तै जिल्ला अदालतले थुनामा पठाउने आदेश दिँदा आधार मानेका विषयमा पनि उनी पक्षका कानुन व्यवसायीले प्रश्न उठाएका छन् । पीडितकै कुरा बाझिएको, उमेर ढाँटिएको र घरबेटी र उनीसँगै सुतेका व्यक्तिको बयानले पनि बलात्कार नभएको पुष्टि गर्ने निवेदनमा जिकिर छ ।
जाहेरी ढिलो पर्नु, घटना भएको भनिएको लामो समयसम्म पनि उनीहरु सँगै काम गर्नु, घुमफिर गर्नु लगायत विषयले बलात्कार नभएको पुष्टि गर्ने पुनरावेदन निवेदनमा दाबी छ ।
गत बिहीबार जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । अदालतको आदेशसँगै उनी कारागार कार्यालय तनहुँमा छन् । उनीविरुद्ध जिल्ला अदालत पूर्व नवलपरासीमा पनि बलात्कारकै आरोपमा उनै पीडितको मुद्दा दर्ता छ । त्यहाँ भने थुनछेक बहस हुन बाँकी छ।






