काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको खपत घटाउन आइतबार पनि विदा दिन सरकारको ध्यानाकर्षण गराएको छ ।
आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाउँदै निगमले आइतबार पनि बिदा भए इन्धनको खपत घटाउन सकिने जनाएको हो ।
यस्तै निगमले अत्यावश्यक बाहेकका सवारी साधनका लागि जोर विजोर नम्बर प्रणाली लागू गर्न पनि सुझाव दिएको आयोगका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।
बिदाको दिन सवारीसाधन कम चल्ने भएकाले इन्धनको खपत घट्ने भन्दै आइतबार पनि बिदा थप्न ध्यानाकर्षण गराइएको उनको भनाई छ । यस्तै जोरबिजोर प्रणालीले पेट्रोलियमको खपत कम हुँदा निगम र देशको व्यापार घाटामा सकारात्मक प्रभाव पर्ने निगमको ठम्याइ छ ।
यो प्रस्ताव कार्यान्वयनका लागि मन्त्रालयले मन्त्रीपरिषद्मा पठाएर अनुमोदन गराउनुपर्नेछ ।






