बेलायतमा लकडाउनमा पार्टी गरी नियम उल्लंघन गरेको भन्दै प्रधानमन्त्री र अर्थ मन्त्रीलाई जरिवाना

लण्डन । लकडाउनको नियम उल्लघंन गरेको भन्दै बेलायतका प्रधानमन्त्री र अर्थमन्त्रीलाई जरिवाना गरिएको छ ।

कोरोना महामारी नियन्त्रण गर्न लकडाउन लगाएको समयमा बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा पार्टी गरी नियम उल्लंघन गरेको भन्दै बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अर्थमन्त्री ऋषि सुनकलाई जरिवाना गरिएको हो ।

बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार लण्डन स्थित महानगरीय प्रहरीले जोन्सन र सुनकलाई जरिवानाको पत्र पठाएको छ । उनीहरुलाई कुन घटनामा दोषी पाइएको हो भन्ने खुलिसकेको छैन ।

प्रहरीले करिब एक दर्जन पार्टीहरुको बारेमा अनुसन्धान गरिरहेको छ । बेलायतका विपक्षी राजनीतिक दलहरुले भने प्रधानमन्त्री र अर्थमन्त्रीले राजिनामा दिनु पर्ने माग गरेका छन् ।

प्रमुख प्रतिपक्षी लेबोर पार्टीका नेता सर किअर स्टामर र लिबरल डेमोक्रयाटिक पार्टीका नेता सर एड डाभेले दुवै जनाले बेलायती जनतालाई ढाँटेकाले राजिनामा दिनुपर्ने बताएका छन् ।