एनआरएनए केन्द्रीय अध्यक्ष बनेपछि कुल आचार्य पहिलो पटक लण्डनमा,विमानस्थलमा गरियो स्वागत(फोटो फिचर)

लण्डन । गैरआवासीय नेपाली संघ ( एनआरएनए) को अध्यक्ष पदमा निर्वाचित भएपछि कुल आचार्य पहिलो पटक बेलायत पुगेका छन् ।

दुई साता अघि सघंको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि उनी पहिलो पटक आफ्नो कर्म थलो लण्डन पुगेका हुन् ।

लण्डन हिथ्रो विमानस्थलमा बुधबार उनलाई परिवार र एनआरएनएका पदाधिकारी एवम् अन्य स्थानीय समुदायका व्यक्तिहरुले स्वागत गरेका थिए ।

उनको स्वागतका लागि एनआरएनए यूकेको वर्तमान कार्यसमितिबाट कोषाध्यक्ष विष्णु खरेल, सदस्य सुमन शर्मा, पूर्व महासचिव आरके त्रिपाठी र पूर्व कोषाध्यक्ष दिलरास गुरुङ, अन्तरराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङ र कोषाध्यक्ष कमल गुरुङ, नेप्लिज सेफ एशोसिएसन यूके अध्यक्ष दधि आचार्य, शिव कंडेल लगायत विमानस्थल पुगेका थिए ।

बहुअध्यक्षीय प्रणालीमार्फत् अध्यक्ष बनेका आचार्य पहिलो ६ महिनाका लागि कार्यकारी भूमिकामा छन् । उनीसगैं डा बद्री केसी र रविना थापा पनि अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी केही समय बेलायत बसेर नेपाल फर्किने कार्यक्रम रहेको बताईएको छ ।

एनआरएनएको जननी मुलुक भनिने बेलायतबाट संघको अध्यक्ष निर्वाचित हुने आचार्य पहिलो हुन् । एनआरएनए यूकेमा सन् २०११-१३ मा अध्यक्ष रहेका उनले पछि आइसीसीमा युरोप संयोजक र उपाध्यक्षको रुपमा एक-एक कार्यकाल काम गरेका थिए ।

दुई वर्षअघि पनि अध्यक्ष प्रत्यासी रहेका उनी कुमार पन्तसँग केही मतले पछि परेका थिए ।

को हुन् एनआरएनए अध्यक्ष कुल आचार्य ?

गैरआवासीय नेपाली संघ एनआरएनएका केन्द्रीय अध्यक्ष आचार्य सामाजिक अभियन्ता पनि हुन् । गैरआवासीय नेपालीको नागरिक तथा अधिकारका सवालमा अन्तर्राष्ट्रिय मञ्चहरुमा सशक्त ढंगले आवाज उठाउने प्रखरवक्ताको रुपमा उनी परिचित छन् । ब्रिटिस गोर्खाका सवाल देखि विपदमा परेका प्रवासी नेपालीहरुको सहयोगार्थ उनी अगाडी अग्रसर भएर काम गर्ने गर्दछन् ।

सघंर्षपूर्ण बाल्यकाल

पर्वतको धाइरिङ, पञ्चायतकालमै शिक्षा र सामाजिक जागरणका लागि लडेको गाउँ । त्यही गाउँबाट काठमाडौं पुग्दा एउटा कलिलो किशोरले धाइरिङदेखि बेलायतसम्मको आचार्यको यात्रा भोगेका कष्ट भनिसाध्य छैनन् । बाल्यकालमै आचार्यले निकै संघर्ष गर्नुपर्‍यो । पारिवारिक जिम्मेवारी बहन गर्ने क्रममा १२ वर्षकै उमेरमा उनको विवाह भयो । पढ्ने उमेरमा घरको जेठो छोराको जिम्मेवारीले उनलाई थिच्यो ।

विहे गरेको २ वर्षमै उनकी श्रीमती मोनाको निधन भयो । त्यसपछि उनको जीवनमा नयाँ संघर्षका अनेकन अध्याय सुरु भए, जुन अहिले पनि जारी छ । वि.सं. २०१८ सालमा पर्वतको धाइरिङ गाउँमा कुल आचार्यका बुबा धर्मनाथ उपाध्यायले पञ्चायतसगं लडेर पहिलो पटक गाउँमा कृष्ण भवन प्राथमिक विद्यालय खोलेका थिए । आचार्यले पनि कृष्ण भवन प्राविमै कक्षा-७ सम्म अध्ययन गरे । माझफाँट माविबाट एसएलसी पास गरेका आचार्य प्रविणता तह (आइए) अध्ययनका लागि बागलुङस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भए ।

तर, आइए पढ्दा-पढ्दै आचार्यले अर्को वियोग व्यहोर्नुपर्यो । उनका बुवा धर्मनाथको निधन भएपछि पढाइ रोकेर उनी गाउँ फर्किए । ‘अरु कुनै विकल्प थिएन, बुवाको निधनपछि गाउँ फर्किएँ, अनि पढाउन थालेँ,’ उनले भने। पारिवारिक विचलनमा परेका आचार्यलाई त्यसपछि भने की सम्भावनाका ढोकाहरु खुले । ‘केही साथीहरुलाई विदेश पठाउनका लागि काठमाडौं आएको थिएँ, तर साथीहरुले विदेश जाउँ भनेर हौस्याएँ,’ आचार्यले भने, ‘त्यसपछि विदेश जाने सुनसार कसियो ।’

‘बेलायत पुगेपछि गाउँकै दाइहरुले सुपरमार्केटमा काम खोजिदिनुभयो, राहत भयो मलाई, एक हप्तामा दुई सय ५० पाउण्ड तलब आउने भयो,’ बेलायतका सुरुवाती दिनहरु सम्झदै आचार्यले भने, ‘बेलायतमा मैले निकै मेहनत गरें र सेफ बनें ।’

प्रेरक कर्मले सफलता

लण्डनको प्रसिद्ध बम्बे बाइसाइकल क्लब नामको रेस्टुरामा किचन हेल्परबाट काम शुरु गरे उनले । बम्बई बाइसाइकलको ६ वर्षे करियर उनको जीवनको नयाँ सफलता बनिदियो । आचार्य किचन हेल्परबाट हेड सेफ बन्न सफल भए । बेलायत बसाइको दुई दशकमा आचार्य सफल व्यवसाय भए – ’होली काउ’ समूह का अध्यक्ष हुन् आचार्य ।

गैरआवासीय नेपालीको पक्षमा

सन् २००३ देखि गैरआवासीय नेपाली संघमा आबद्ध रहेका आचार्य सन् २००७ देखि निरन्तर सक्रिय छन् । गैरआवासीय नेपाली संघ बेलायतको सदस्य रहेर संगठनमा प्रवेश गरेका आचार्यले पछि सोही कमिटीको नेतृत्व गरे । सक्रियता बढ्दै जाँदा युरोप संयोजकको जिम्मेवारी कुशलतापूर्वक निभाएका आचार्य पछि एनआरएनएको उपाध्यक्षमा निर्वाचित भए ।

सन् २०१९ मा अध्यक्ष पदका लागि उम्मेद्वारी दिएका आचार्य चुनावमा झिनो मतले पराजित भए । तर त्यस पछि पनि सल्लाहकारको रुपमा उनले समन्वयकारी भूमिका जारि नै राखे। सन् २०२१ अक्टोबरमा डेलिगेट्स विवादका कारण दशौँ महाधिवेशन हुन नसके पछि संस्था विभाजनतर्फ अगाडी बढ्यो । संस्थालाई विभाजित गरेर एक्लै अध्यक्ष बन्ने कि अर्को पक्षसंग सहकार्य गरेर संस्था जोगाउने ? अन्ततः उनले संस्था जोगाउने पक्षमा निणर्य गरे ।

उनि रबिना थापा र डा बद्रि केसीसंगै अध्यक्ष चुनिए । पहिलो छ महिना उनले कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेका छन् भने बाकी एक वर्ष अध्यक्षको रुपमा । ‘नागरिकताको सवाल, गोर्खा समस्या तथा अन्य विविध विषयहरुलाई सम्बोधन गर्नुछ,’ आचार्यले भने, ‘अब एनआरएनएको नेतृत्व गर्दै ती योजनाहरुलाई कार्यान्वयनतर्फ लाने छु ।’

पशुपति क्षेत्रमा एक वृद्धाश्रम बनाउन एक्लै रु एक करोड दिने घोषणा गरेका आचार्य पद भन्दा सहकार्यमा बढी जोड दिन्छन् । तर उनलाई छोटो समयमै केहि गरेर देखाउनु पर्ने चुनौती छ । के सफल होलान त् उनि ? केहि समय पर्खनै पर्नेछ ।

तस्बिर – मिलन तमु