लण्डन । युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवम् नेपाली वैज्ञानिक डा.महाविर पुन मगरलाई सम्मान गरेको छ ।
युनिभर्सिटीमा आयोजित एक कार्यक्रममा डा.पुनले गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो । डा. पुनले नेपालको खोज अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पुर्याएको योगदान र उहाँको कर्मको प्रतिफल स्वरुप सम्मान गरिएको हो ।

उक्त अवसरमा डा.पुनसगं अन्तरक्रिया तथा छलफल समेत गरिएको थियो । कार्यक्रममा डा. पुनले आफ्नो कामहरु भिडियो मार्फत प्रस्तुतीकरण गरेका थिए । पुनले जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ-नयाँ अनुसन्धानको काम गरिरहेको जानकारी दिए ।

कार्यक्रममा उपस्थित विद्यार्थी एवम् अन्य सहभागीहरुले राष्ट्रिय आविष्कार केन्द्र र महाविर पुनको बारेमा जिज्ञासा एवम् टिप्पणीहरु राखेका थिए । सो कार्यक्रमका आयोजक समेत रहेका बिज एजुकेशन कन्सलटेन्सीका प्रबन्ध निर्देशक हरि कार्कीले कार्यक्रममा सहभागी सम्पूणलाई धन्यवाद व्यक्त गर्दै डा. महाविर पुनको स्वागत एवम् सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाल एजुकेशन काउन्सील युकेका पदाधिकारीहरु बसन्त नेपाल, लेखनाथ गैरे, गणेश खड्का, कृष्ण खनाललगायत सयौँको उपस्थिति रहेको थियो ।

नेपालको विकासको लागि र आर्थिक उन्नति कसरी गर्न सकिन्छ भन्ने उद्देश्य सहित स्थापित राष्ट्रिय आविष्कार केन्द्र मार्फत थुप्रै सामाजिक कार्यहरू गर्दै आईरहेको छ ।

महावीर पुन एक नेपाली वैज्ञानिक, शिक्षक, सामाजिक उद्यमी हुन् । वायरलेस प्रविधिद्वारा देशका ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न सफल महावीर त्रिभुवन विश्वविद्यालयभित्र रहेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पनि हुन् ।
पुनले सन् २०१२ मा सूचना तथा प्रविधि मार्फत देश विकासका सम्भावनाहरूको खोज र आविष्कार गर्ने उद्देश्यले मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेका थिए ।
उक्त अवसरमा डा. महाविर पुनसगं गरिएको अन्तरक्रिया कार्यक्रम भिडियोमा हेर्नुहोस्






