तक्दीर अधिकारी
डार्बिन। अस्ट्रेलियाको उत्तरी क्षेत्रमा पर्ने डार्बिनमा नेपाली नयाँ वर्ष २०७९ को स्वागतार्थ विविध कार्यक्रम गरिने भएको छ । नेप्लिज एसोसियसन अफ नरदन टेरोटरी र एनआरएनए नरदन टेरोटरीको सयुंक्त आयोजनामा नयाँ वर्षको अवसर पारेर विविध सांस्कृतिक, ज्ञानबद्र्धक र मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाली नयाँ वर्षको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको कार्यक्रम यस वर्ष डार्बिनमा भएका नेपाली समुदायलाई एकताबद्ध गर्दै यही अप्रिल ९ तारिख फिलिपिनो कम्युनिटी सेन्टर मारारामा आयोजना गरिएको एनआरएनए नरदन टेरोटरी सयोंजक विष्णु चापागाईले जानकारी दिए ।
नेपाली कला संस्कृति भाषा भेषभुषाको प्रदर्शन एवम् मौलिक नेपाली कला संस्कृतिको अन्य समुदायलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको चापागाईले बताए । नरदन टेरोटरीमा अध्ययनका लागि आउने नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि उनीहरुको कार्यक्षेत्रका विज्ञहरुसगं भेटघाट गराएर पहिचान गराउने र समन्वय गरिदिने कार्यक्रम समेत रहेकाले मनोरञ्जन र संस्कृतिसगैं कार्यक्रम जानकारीमूलक र ज्ञानवद्र्धक समेत रहेको पन्तको भनाई छ ।
नयाँ अन्तराष्ट्रिय नेपाली विद्यार्थीहरुलाई स्वागत गर्ने र कम्युनिटीका बारेमा जानकारी दिने तथा यसबाहेक विद्यार्थीहरुले नै आफ्ना प्रतिभाहरु प्रस्तुत गर्ने ठाउँको रुपमा समेत कार्यक्रम रहने र यस वर्षदेखि नेपाली मुलका स्थापित व्यक्तिहरुसगंको अनुभव र जानकारी आदानप्रदान गर्ने तथा अनुभवहरु सुनाउने कार्यक्रम समेत रहेको नेप्लिज एसोसियसन अफ नरदनटेरोटरी अध्यक्ष युवराज पन्तले जानकारी दिए ।
कार्यक्रमले दोश्रो पुस्ताका बच्चाहरुलाई नेपाली संस्कृतिका बारेमा जानकारी गराउन र उनीहरुलाई समेत नेपाली कला संस्कृतिसगं सहभागी बनाउन कार्यक्रम महत्वपूर्ण रहने पन्तको भनाई छ । नेपाली फुट क्लवको सहयोगार्थ कार्यक्रम गर्न लागिएको उनले बताए । यसबाहेक विभिन्न गायक गायिकाहरुको प्रस्तुती, नृत्य लगायतका कार्यक्रम पनि रहने आयोजकले बताएको छ ।
कार्यक्रममा डेप्युटी चिफ मिनिस्टर, मन्टिकल्चर्स मिनिस्टर लगायतका स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि,अन्तराष्ट्रिय नेपाली विद्यार्थी र स्थानीय समुदायका गरि झण्डै ५ सय जनाको उपस्थिति हुने आयोजकले जनाएको छ । नयाँ वर्षको उत्सवको रुपमा कार्यक्रम गर्न लागिएकाले सहभागीताका लागि आयोजक दुबै संस्थाले सम्पूर्णलाई आग्रह समेत गरेका छन् ।






