सहमतिमा यौन सम्बन्ध राखेर बलात्कारको उजुरी दिने किशोरीलाई साढे ३ वर्ष कैद सजाय

काठमाडौं । सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी किशोरीलाई अदालतले जेल सजाय सुनाएको छ ।

बलात्कारको झुटो उजुरी दिएको अभियोगमा अछाम जिल्ला अदालतले १९ वर्षकी एक किशोरीलाई ३ वर्ष ६ महिनाको जेल सजाय सुनाएको हो । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले उजुरीकर्ता किशोरीविरुद्ध नै सजायको फैसला सुनाएको हो ।

२०७८ माघ १५ गते आफूसँग विवाह गर्न भनेर घरमा माग्न आएका युवकले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

तर, मुद्दाको पुर्पक्षका क्रममा सहमतिमा नै यौनसम्बन्ध राखेको पुष्टि भएको अदालतको ठहर छ । युवकलाई झुटा मुद्दा लगाएर फसाउन खोजेको भन्दै अदालतले किशोरीलाई नै कैद सजायको फैसला सुनाएको हो ।

गत माघ १५ गते आफ्नै घरमा बिहेको प्रस्ताव लिएर आएका रामारोशन गाउँपालिका २० का ती युवकले बलात्कार गरेको भन्दै किशोरीले उनीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

किशोरीले प्रहरीमा दिएको जाहेरीमा माघ १५ गते राति अन्जाजी ११:३० बजेतिर आफूमाथि जबरजस्ती करणी गरेको उल्लेख गरेकी थिइन् । आमासँग विवाहको कुरा गरेको र राति आफ्नै कोठाको भुइँमा सुतेका युवकले खाटमा सुतेकी आफूलाई तानेर जबरजस्ती करणी गरेको किशोरीले उजुरीमा उल्लेख गरेकी थिइन् ।

तर, अदालतमा दिएको बयान र बहसका क्रममा किशोरीले सहमतिमै यौन सम्बन्ध राखेको स्वीकारेकी थिइन् । तत्काल विवाह नहुने अवस्था सिर्जना भएको भन्ने अवस्थामा आफूले रिसले बलात्कार गरेको भनेर भनेको किशोरीले बयान दिएकी थिइन् ।

अदालतमा दिएको बयानमा युवकले सहमतिमै यौन सम्पर्क राखेको बताएका थिए । पछि घरमा मान्छे बितेको खबर सुनिएपछि आफू तत्काल विवाह नहुने भयो भनेर त्यहाँबाट बाहिरिएको युवकले बयान दिएका थिए ।