लण्डन । मानव जीवनको महत्वपू्र्ण समय मानिएको किशोरावस्थाको व्यवस्थापन र भविष्यको योजना निर्माण गर्ने उद्धेश्यले बेक्सली नेप्लिज् कुम्युनिटी युकेले १ दिने करियर वर्कशप कार्यक्रम सम्पन्न गरेको छ ।
किशोरावस्थामा ध्यान पुर्याउनुपर्ने कुराहरु र किशोरावस्था भविष्य निर्माणको एक खुड्किलो भएकाले त्यस समयमा गर्नुपर्ने योजनाका विषयमा जानकारी गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको कम्युनिटीकी पत्रकारिता सयोंजक अहिल्या कुँवरले जानकारी दिईन् ।
२७ मार्चमा ह्रारिस एकेडमीमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशिल दिग्गत एवम् बौद्धिक व्यक्तिहरूको उपस्थितिमा भविष्यमा के बन्ने, कसरी बन्ने, यसको लागि के गर्नु पर्छ र यो समयलाई सदुपयोग गर्दै भविष्य सहज र सुन्दर एवम् सफल बनाउन के गर्न सकिन्छ भन्ने विषयमा सहभागी किशोर किशोरीहरुलाई महत्वपू्र्ण जानकारी गराईएको कुँवरको भनाई छ ।

२२ जना किशोर किशोरीरुको सहभागिता रहेको उक्त कार्यक्रममा ६ प्रशिक्षकहरुले आफ्ना अनुभवहरु बाँड्दै भविष्य निर्धारण गर्ने खुड्किलोका रुपमा रहेको किशोरावस्थामा आफुले सुरु गरेको करियर र के गर्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए । विशेष गरी अध्ययनका लागि युनिभर्सिटीमा जाने किशोर किशोरीहरुलाई लक्षित गरी गरिएको कार्यक्रमको सञ्चालन बेक्सली नेप्लिज् कम्युनिटीका बरिष्ठ उपाध्यक्ष हरिस ज्ञवालीले गरेका थिए ।
संस्थाका अध्यक्ष आनन्द धरेलले सबै प्रशिक्षकहरूलाई खादा लगाएर सम्मान प्रकट गर्दै कार्यक्रमको सुभारम्भ गरेका थिए । कार्यक्रम मा संस्थाका सचिव होम नाथ ज्ञावली को उपस्थित रहेको थियो ।
कार्यक्रममा मेडिकल क्षेत्रबाट माल्भिका पाण्डे र डा.रनु बराल, कानुनी क्षेत्रबाट स्नेहा श्रेष्ठ,ईन्जिनियरिङ क्षेत्रबाट सुवास पौड्याल,सुवु गौतम र पञ्कज पौड्यालले प्रशिक्षण दिएका थिए । उनीहरुले आफुहरु उक्त क्षेत्रमा प्रवेश गरेको अनुभव, आफ्नो क्षेत्रमा कसरी प्रवेश गर्ने, कहाँबाट सुरु गर्ने, अध्ययनका श्रोतहरु के के हुन् र भविष्य कस्तो छ भन्ने विषयमा प्रशिक्षार्थीहरुलाई स्पष्ट पारेका थिए ।

प्रशिक्षार्थीका अभिभावक समेत उपस्थिति रहेको कार्यक्रममा अभिभावकहरुले कार्यक्रम निकै महत्वपू्र्ण र उपलब्धीमूलक रहेकाले आयोजक प्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा यस्ता जानकारीमूलक कार्यक्रमहरु अझै धेरै आयोजना गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा कम्युनिटीका अध्यक्ष आनन्द धरेलले सहभागी प्रशिक्षार्थी एवम् प्रशिक्षक र अभिभावकहरुलाई धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि गर्ने प्रतिबद्धता जनाएका थिए ।






