काठमाडौ- गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षमा तीन जना सर्वसम्मत रुपमा चयन भएका छन् ।
संघको काठमाण्डौंमा सम्पन्न १० औं महाधिवेशनले अध्यक्ष पदमा कुल आचार्य,रविना थापा र डा. बद्री केसीलाई सर्वसम्मतले चयन गरेको हो । अध्यक्षहरुको कार्यकाल ६/६/६ महिना रहने प्रावधान रहेकोमा पहिलो छ महिना कुल आचार्य दोस्रो छ महिना रविना थापा र तेस्रो छ महिना डा. केसीले संघको नेतृत्व गर्ने गरि सहमती जुटाईएको संघका निवर्तमान अध्यक्ष कुमार पन्तले महाधिवेशन समापन कार्यक्रममा बताऊनु भएको छ।
यस्तै महासचिवमा गौरीराज जोशी र डा. केशव पौडेल चयन भएका छन् । महिला उपाध्यक्षमा विष्णुमाया परियार र यस्मिन बेगम चयन भए । ऊप- महासचिवमा विनय अधिकारी, ओम गुरुङ, रामशरण सिमखडा लगाएत ६ जना चयन भए ।
आइतबार विधान संशोधनमार्फत तीन जना अध्यक्ष हुने गरी भागवण्डालाई सहज बनाइएको हो । संघभित्रका तीन समूहको व्यवस्थापन हुने गरी पदाधिकारीको संख्या पनि बढाइएको छ ।
संसोधित विधान अनुसार अध्यक्ष ३, उपाध्यक्ष ११,महासचिव २,उप महासचिव ६, सचिव १० जना हुने व्यवस्था गरिएको छ । त्यस्तै कोषाध्यक्ष ३, सह-कोषाध्यक्ष ८, महिला सहकोषाध्यक्ष-३, प्रवक्ता २ जना हुने व्यवस्था गरिएको छ ।
संसोधित विधान अनुसार महिला संयोजक २,युवा संयोजक २,क्षेत्रीय संयोजक २,क्षेत्रीय उपसंयोजक युरोप क्षेत्र ७ र अन्य क्षेत्र ५ को व्यवस्था गरिएको छ ।
क्षेत्रीय महिला संयोजकको संख्या बढाएर ३ जना, क्षेत्रीय युवा संयोजक २,क्षेत्रीय महिला उप संयोजक २ र क्षेत्रीय युवा संयोजक २ जना हुने व्यवस्था गरिएको छ ।
संसोधित विधान अनुसार एनआरएनको पदाधिकारी संख्या नै ९५ जनाको हुनेछ ।






