यसवर्ष अत्यधिक गर्मी हुने : सतर्क रहन विज्ञको सुझाव

Summer heat on the thermometer

काठमाण्डौ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

देशभर तापक्रम बढ्ने क्रममा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्ष काठमाडौंमा हिउँदपछिको सबैभन्दा बढी तापक्रम शुक्रबार ३१.३ डिग्री मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि १ चैतमा ३१.१ डिग्री मापन भएको थियो ।

गत वर्ष २१ मार्चको काठमाडौंको अधिकतम तापक्रम २८.७ डिग्री सेल्सियस थियो, जुन उक्त महिनाको सबैभन्दा बढी तापक्रम थियो । मौसमविद् इन्दिरा कँडेलका अनुसार पूर्वी नेपालमा तापक्रम झन् बढिरहेको छ । मनसुनी प्रणाली नहुँदा आकाश खुला हुन्छ तथा गर्मीयाममा नेपालमा पृथ्वी सतहबाट सूर्य नजिक र सीधा भएकाले घाम तातो हुने र तापक्रम बढ्ने उनले बताईन् ।

हरेक दिन तापक्रम बढ्दै जान थालेपछि मौसम पूर्वानुमान महाशाखाले तराईमा तातो हावा अर्थात् लु चल्न सक्ने चेतावनी दिएको छ । भारतको राजस्थान, मध्यप्रदेश क्षेत्रमा तातो हावा चलिरहेको छ, नेपालका तराईमा तापक्रम बढ्नुमा यसको असर पनि हुन सक्ने प्रारम्भिक अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् कडेंलले जानकारी दिईन् ।

यसैबीच : नेपालमा पछिल्लो दिनहरुमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञहरुले सुझाएका छन् । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले पछिल्लो समय नेपालमा तापक्रम वृद्धि भइरहेको बताए । नेपालमा केही दिन यसको सम्भावना भएकाले सर्तक रहनुपर्नेमा उनले जोड दिए ।

तातो हावा चलेको अवस्थामा पर्यावरण सुख्खा रहने, कम पानि पर्ने हुँदा प्रदुषण बढ्ने र ठुलो वेगको हावा चल्दा भौतिक संरचनाहरुमा क्षति पुग्नासक्ने उनले बताए । उनले यस्तो अवस्थामा सर्वसाधारणलाई पूर्व सुचना दिनु आवश्यक रहेको बताए । तापक्रम वृद्धि भई अत्याधिक हावा चल्ने हुँदा कृषि प्रणालीमा समेत असर पर्ने भएकाले सजग हुनुपर्ने उनले बताए । जलवायु विज्ञ डा.उप्रेतीले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनको असर तीव्र रुपमा देखा परिरहेको बताए ।