लन्डन। एनआरएनए स्कटल्याण्डका अध्यक्ष काशीराम भण्डारी सहितका पदाधिकारीले बिहीबार लन्डन दूतावास आएर बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई स्कटल्याण्डका नेपालीहरुको तर्फबाट स्वागत गर्दै स्कटल्याण्डवासी नेपालीका चासोका विविध विषयमा छलफल समेत गरेका छन् ।
त्यस अवसरमा अध्यक्ष भण्डारीले स्कटल्याण्डमा पूर्व राजदूत लोकदर्शन रेग्मीका पालामा शुरु गरिएको दूतावासको घुम्ती सेवालाई निरन्तरता दिन आग्रह गरे।
राजदूत आचार्यले पनि दूतावासका सेवाहरुमा स्कटल्याण्डवासी नेपालीहरुको पहुँच सुनिश्चित गर्न उपलब्ध स्रोत, साधनले भ्याएसम्मको कोशिश् गर्ने प्रतिवद्धता जनाए।
त्यस्तै, उपनियोग प्रमुख रोशन खनालले ई पासपोर्ट लगायतका सेवामा नयाँ प्रविधि आवश्यक पर्ने कारण केही ढिलाइ भएपनि आगामी मे २१ र २२ मा स्कटल्याण्डमा घुम्ती सेवा दिइने जानकारी गराइन्।
त्यसअवसरमा एनआरएनए स्कटल्याण्डका उपाध्यक्ष उज्ज्वल कार्कीले नेपाल- स्कटल्याण्ड सिधा हवाई उडान शुरु गर्न सके नेपाली अर्थतन्त्रलाई ठूलो लाभ मिल्ने र थुप्रै अवसरहरु सिर्जना हुने भन्दै दूतावासको पहलका लागि आग्रह गरे। कोषाध्यक्ष शर्मिला भण्डारीले दूतावासले स्कटल्याण्डमा सञ्चालन गर्ने हरेक कार्यमा पूर्ण साथ र सहकार्य रहने बताइन्।
छलफलमा सहभागी दूतावासका सेकेन्ड सेक्रेटरी रामबाबु नेपालले केही महिनाअघि स्कटल्याण्डमा सम्पन्न कोप २६ सम्मेलनका क्रममा नेपाली प्रतिनिधिमण्डलको सहयोग र व्यवस्थापनमा एनआरएनए स्कटल्याण्ड र अध्यक्ष भण्डारीले विशेष भूमिका निर्वाह गरेकोमा प्रशंसा गरे।
उनीहरुले युक्रेनका युद्धपीडित नेपालीलाई एनआरएनए स्कटल्याण्डले जुटाएको तीन हजार पाउन्ड सहयोग अध्यक्ष भण्डारी आफै पोल्याण्ड पुगेर हस्तान्तरण गरेको पनि जानकारी गराएका थिए।






