काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी भएका छन्। प्रतिस्पर्धी किशोर प्रधानलाई पछि पार्दै शेखर विजयी भएका हुन् ।
वरिष्ठ उपाध्यक्षमा विजयी शेखर तीन वर्षपछि महासंघको स्वत अध्यक्ष हुनेछन्। गोल्छा समूहका शेखरले किशोरलाई ठूलो मार्जिनसहित जितेका छन्।
शेखरले एशोसिएट र जिल्ला दुई क्षेत्रमा प्रधानले भन्दा बढी मत पाए भने वस्तुगतमा किशोरले बढी मत पाए। महासंघमा वरिष्ठ उपाध्यक्षका लागि प्राप्त हुने मतलाई तीन भागमा विभाजन गरिन्छ।
त्यसमध्ये जिल्लाको मत भार ५० प्रतिशत हुन्छ भने एशोसिएटको मतभार ३० प्रतिशत र वस्तुगतको मतभार २० प्रतिशत हुन्छ। जिल्लामा शेखरले ६१ मत प्राप्त गरे भने किशोरले ४२ मत पाए। उता वस्तुगतमा किशोरले ५१ मत पाए भने शेखरले ४७ मत पाए।
भवानी राणाले नेतृत्व गर्ने महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर हुनेछन्। एशोसिएटबाट यसअघि नै चन्द्र ढकाल निर्विरोध निर्वाचित भैसकेका थिए। वस्तुगतबाट उमेशलाल श्रेष्ठ उपाध्यक्ष भएका छन् भने जिल्लाबाट प्रमोद श्रेष्ठ उपाध्यक्ष बनेका छन्।






