गुल्मी । गुल्मीमा डेढ करोडमा लागतमा बौद्ध स्तुपाको निर्माण सुरु गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ८ भार्सेको देउराली डाँडाँमा बौद्ध स्तुपाको निर्माण सुरु गरिएको हो ।
समुन्द्री सतहदेखि २ हजार १ सय ८० मिटर उचाईमा रहेको देउराली डाँडामा लुम्बिनी प्रदेशको दोस्रो ठुलो बौद्ध स्तुपाको निर्माण सुरु गरिएको भार्से स्वयम्भू देउराली बौद्ध स्तुपा निर्माण समितिका अध्यक्ष नरु बुढाथोकीले जानकारी दिए । गत फागुन १३ गते शिलान्यास गरिएको स्तुपाको निर्माण असार मसान्तसम्म सकिने छ ।
“पर्यकटीय गन्तब्य बनाउनका लागि स्तुपा निर्माणको सोंच बनाएका हौं ।” निर्माण समितिका अध्यक्ष बुढाथोकीले भने, “अभियानद्धारा रकम संकलन गरेर लगानी गरिरहेका छौं ।” अभियानबाट अहिलेसम्म ५५ लाख रकम संकलन भइसकेको उनले बताए । अभियानको नेतृत्व भार्सेली साज हङकङका अध्यक्ष कुल बहादुर बुढाथोकीले गरेका छन् ।
श्रीलङ्काका १ र लुम्बिनीका ४ जना बौद्ध गुरुले देउराली डाँडाँमा स्तुपाको शिलान्यास गरेका थिए । रकम संकलन अभियानमा भार्सेली साज हङकङ, भार्सेली समाज युके, भार्सेली समाज तराई क्षेत्र, भार्सेली समाज काठमाडौं र सत्यवती गाउँपालिकाका अन्य स्थानीयहरु पनि जोडिएका छन् । भार्से ऐतिहासिक ठाउँ भएकोले पर्यटकीय स्थलको रुपमा विकास गरेर परिचित गराउन आफुहरु बिदेशमा रहेर पनि जन्मभूमिमा लगानी गरेको र आगामी दिनमा पनि गर्ने अभियानका संयोजक भार्सेली साज हङकङका अध्यक्ष कुल बहादुर बुढाथोकीले बतए ।
फनपार्क पनि निर्माण
सबै प्रकारका पर्यटकहरुलाई आकर्षित गर्नका लागि बौद्ध स्तुपाको नजिकै फनपार्क निर्माण गरिएको छ । पर्यकटीय गनतब्य बनाउनका लागि बौद्ध स्तुपाको अभियानसँगसँगै जोडेर फनपार्क निर्माण गरिसकेको स्थानीय युवा सुजन गलामीले जानकारी दिए ।
“फनपार्क बनेको स्थलबाट उत्तरका धौलागिरी, अन्नपूणर् र माछापुच्छ्रे लगायतका हिमालहरु देखिन्छ ।” फनपार्क निर्माणको रेखदेख समेत गर्ने स्थानीय गलामीले भने, “भार्सेलाई आन्तारिक र बाह्य दुबै प्रकारका पर्यटकको मुख्य केन्द्रविन्दु बनाउन लागि रहेका छौं ।” फनपार्कमा टिकटक, लभ, चन्द्रमा र बीचमा आश्रयस्थल बनाइएको छ ।
देउराली डाँडामा तामा, सिसा र फलाम खानी समेत रहेको भार्सेका वडाध्यक्ष सन्तबहादुर थापाले बताए । “पहिले खानी उत्खनन भइरहेको रहेछ ।” वडाध्यक्ष थापाले भने, “पटकपटक गाउँपालिका र प्रशासनमा जानकारी गराउँदा पनि चासो भएन ।” वडाध्यक्ष थापाले बौद्ध स्तुपा, फनपार्क र अन्य कामहरु गर्ने भार्सेलीहरुलाई धन्यवाद दिए । निर्माणधिन बौद्ध स्तुपा र निर्माण गरिएको फनपार्कको लागि सत्यवती गाउँपालिकाले अहिलेसम्म आर्थिक सहयोग गरेको छैन । रीडि-रुद्रवेणी-वामीटक्सार राष्ट्रिय राजमार्गको जोहाङ्ग खैरेनीबाट करिब १६ किलोमिटरको उकालो यात्रापछि भार्सेमा पुग्न सकिन्छ ।






