लन्डन- बेलायतीको उत्तर–पश्चिमी इलाकामा हालै आएको बाढीको असर साम्य हुन बाँकी रहिरहँदा पुन: सो इलाकामा भारी बर्षा भई बाढी आउन सक्ने भन्दै यहाँको वातावरण अध्ययन सम्बन्धी संस्थाले चेतावनी दिएको छ ।
बेलायतको मौसम पूर्वानुमान गर्ने उक्त संस्थाले लन्डनबाट ३५५ किलोमिटर टाढा रहेको ल्यानक्यासाएर इलाकामा बाढीले बस्ती कटान तथा डुबान गर्ने खतरा भएको चेतावनी दिएको हो ।
चेतावनीपश्चात् बाढीबाट प्रभावित हुनसक्ने बस्तीका नागरिकलाई सुरक्षित स्थलमा सारिएको छ ।
ल्यानक्यासाएर क्षेत्रमा शनिबार प्रचण्ड वर्षा भएपछि मानिस कटान र डुबानको डरले भयवित भएका स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
बाढीबाट प्रभावित हुनसक्ने ठाउँका मानिसलाई उच्च तथा सुरक्षित भू–भागमा जान यहाँको प्रशासनले अनुरोध गरेको छ । नजिकका अन्य बस्तीमा मानिसलाई पनि आफ्ना महत्वपूर्ण सरसामानलाई सुरक्षित स्थलमा लग्न र मौसम पूर्वानुमानसम्बन्धी सूचना नियमित गरिरहन अनुरोध गरिएको छ ।
बेलायतका बाढी नियन्त्रण मन्त्री रोरीस्टेवार्टले बाढी प्रभावित क्षेत्रमा परेको वर्षा अकल्पनीय भएको र यसले ठूलोमात्रामा भौतिक संरचनामा क्षति पुर्याएको बताउनुभएको छ ।






