सिड्नी । अस्ट्रेलियामा रहेका झापालीहरुको सगंठित संस्था झापाली समाज अस्ट्रेलियाको अधिवेशन सम्पन्न भएको छ । आईतबार सम्पन्न समाजको अधिवेशनले निरन्जन प्रसाईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
नवगठित समितिको उपाध्यक्षमा ज्वलन्त (निरज खतिवडा), सचिवमा तिर्थराज कार्की, सहसचिवमा प्रकाश पौड्याल,कोषाध्यक्षमा नोदन क्षेत्री, भिक्टोरियाको अध्यक्षमा सुशान्त ओली सर्वसम्मत चयन भएको समाजका निवर्तमान अध्यक्ष उमेश पोखरेलले जानकारी दिए ।
त्यस्तै सदस्यहरुमा ऋषिराज दाहाल, अमित श्रेष्ठ, अशोक ओली र राजु भेटवाल चयन भएका छन् । राजन सिटौला, दिपक चुदाल र अजय राजवशींको निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयन भएको घोषणा गर्दै नवनिर्वाचित समितिलाई सपथ ग्रहण गराएका थिए ।
अधिवेशनको अवसरमा निवर्तमान अध्यक्ष उमेश पोखरेलले समाजले २०१९ देखि २०२१ सम्म आफ्नो कार्यकालमा गरेका विभिन्न गतिबिधिहरुको बारेमा जानकारी गराएका थिए । झापाली समाजले गृह जिल्ला लगायत देशका विभिन्न स्थानमा कोभिड संक्रमण लगायतका अन्य विपदहरुमा निरन्तर सहयोग गरेको बताए । उनले आफ्नो कार्यकाल सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफलताको शुभकामना समेत व्यक्त गरे ।
कार्यक्रममा नवनिर्वाचित कार्यसमिति अध्यक्ष निरज प्रसाईले आफुलाई विश्वास गरेर अध्यक्षको जिम्मेवारी सुम्पिने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आफुले पुराना कामहरुलाई यथावत राखेर प्रमुखःत समाज भित्र अझै धेरै झापाली युवाहरुलाई जोड्ने प्रयत्न गर्ने बताए ।
कार्यक्रममा एनआरएन न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ, एनआरएन ग्लोबल उपाध्यक्ष मन केसी, न्यू साउथ वेल्स परिषद अवैधानिक वाणिज्य दूत दिपक खड्का, झापाली समाजका प्रमुख संरक्षकहरु भवानी ओली, दिनेश पोखरेल, ओएनअफका सदस्य रमेश पाण्डे, रुपन्देही सञ्जालका मुक्तिराम पौड्याल, ऋषिराज आचार्य, हेन्तराज पौड्याल लगायतले बोल्दै नवनिर्वाचित समितिलाई बधाई एवम् शुभकामना व्यक्त गरे । उनीहरुले झापाली समाज अस्ट्रेलियाले गृह जिल्लामा गर्दै आएको सहयोगको प्रशसां गर्दै आगामी दिनमा अझै सक्रिय भई सामाजिक कार्यमा लाग्न आग्रह गरेका थिए ।
कार्यक्रम समाजका सदस्य अशोक ओलीको स्वागत एवम् सचिव तिर्थराज कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।






