रुसले गर्‍यो युद्धविरामको घोषणा

ऐजेन्सी । रुसले युद्धविरामको घोषणा गरेको छ । युक्रेनसगंको द्धन्द्धको १० औँ दिन मानवीय सहायताका लागि भन्दै रुसले युद्धविरामको घोषणा गरेको हो ।

कियभमा रहेका बीबीसी संवाददाता जेम्स वाटरहाउसका अनुसार रुस र युक्रेनबीच जारी युद्धको दशौँ दिन रुसले युद्धविरामको घोषणा गरेको छ ।

सामाजिक सञ्जालमा गरिएको एक पोस्टमा उनले रूसी रक्षा मन्त्रालयले रूसी सेनाले मस्कोको समयानुसार १० बजेदेखि हमला रोक्ने जनाएको बताएका छन् । यसबाट मानिसहरूलाई मद्दतका लागि मानवीय कोरिडोरहरू खोल्न सकियोस् ।

यसमार्फत् मारिउपोल र भोल्नोभाखा शहरका नागरिकलाई शहरका नागरिकहरूलाई मद्दत गरिने बताइएको छ । रुसी सरकार समर्थित मिडिया स्पुतनिकले पनि यो युद्धविराम ६ बजेदेखि लागू हुने र यस अवधिमा सर्वसाधारणलाई सहयोग गर्न मानवीय करिडोर खोलिने जानकारी दिएको छ ।

युक्रेनको धेरैजसो क्षेत्रमा विनाशकारी मानवीय संकटको आशंका व्यक्त गरिएका बेला युद्धविरामको घोषणा गरिएको हो । कियभ, खार्किभ, सुमी, चेर्निगोभ र मारिउपोल शहरहरू सबैभन्दा बढी प्रभावित छन् ।

युक्रेनका राष्ट्रपतिका सहयोगी मिखाइल पोडोलियाकले करीब २ लाख मानिसहरू मारिउपोलबाट निल्कने प्रयास गरिरहेको बताएका छन् । त्यस्तै २० हजार मानिस डोनेट्स्क क्षेत्रको भोल्नोभाखा क्षेत्र छाड्न चाहेको उनले उल्लेख गरेका छन् ।

हाल युक्रेनको सबैभन्दा ठूला बन्दरगाह भएका दुई शहर मारिउपोल र भोल्नोभाखालाई रुसी सेनाले घेरेको छ । बीबीसी