जनकुपरधाम । जनकपुर-पोखरा सिधा हवाई उडान सेवा सुरु भएको छ । बहुप्रतिक्षित उक्त हवाई उडान सेवा अन्तर्गत शनिवार बुद्ध एयरले पहिलो उडान गरेको छ ।
उक्त उडानमा प्रथम यात्रीको रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले यात्रा गरेका छन् । मुख्यमन्त्री लगायत, मुख्य सचिव तथा सञ्चारकर्मीहरुले उक्त उडान गरेका हुन् ।
जनकपुर पोखरा हवाई उडान सातामा तीन दिने उडान गरिने तयारी गरिएको छ । यात्रुको चाप बढे उडान सेवासमेत थप हुने जनाइएको छ । कोरोना महामारीका कारण दुई वर्षदेखि जनकपुर-पोखरा उडान स्थगित थियो ।
साताको तीन दिन मंगलबार, बिहीबार र शनिबार जनकपुर-पोखरा हवाई उडान हुने बुद्ध एयरले जनाएको छ । पोखरा जनकपुरमा हवाई उडान अवधि ४५ मिनेटको हुने छ ।
जनकपुरधाम विमानस्थलका प्रवन्धक योगेन्द्रनाथ कुँवरले सुरुमा हप्तामा तीन दिन र त्यसपछि यात्रुको मागअनुसार दैनिक उडान भर्ने योजना रहेको बताए ।
अब जनकपुरधाम आउने पर्यटक पोखरा तथा पोखरा आउने पर्यटक केही मिनेटमै हवाइ यात्रामार्फत धार्मिक नगरी जनकपुरधामको भ्रमण गर्न सक्ने छन् । यसले गर्दा दुवै ठाउँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।
केही महिनाअघि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गण्डकी प्रदेशका मुख्यमन्त्रीको निमन्त्रणमा पोखरा भ्रमणमा गएका बेलामा दुई पर्यटकीय शहरका बिचमा सिधा हवाइ उडान सेवा सुरु गर्ने लिखित सहमति गरेका थिए ।






