लण्डन । गैर आवासीय नेपाल संघ (एनआरएन) बेलायतले नवनियुक्त नेपाली राजदुत ज्ञानचन्द्र आचार्यको स्वागत तथा अभिनन्दन कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । बेलायतका लागि नेपालको २२ औँ राजदुतको रुपमा कार्यभार सम्हालेका आचार्यलाई एनआरएन युकेले अल्डरसटस्थित आफ्नै कार्यालयमा स्वागत पश्चात बाजागाजा सहित कार्यक्रम स्थल एम्पायर हलमा लगिएको थियो ।
कार्यक्रममा बोल्दै राजदुत आचार्यले भव्य रुपमा कार्यक्रम आयोजना गरि आफुलाई सम्मान व्यक्त गरेकोमा आयोजक एनआरएन युके शाखालाई धन्यवाद व्यक्त गर्दै एनआरएनसगं सहकार्य गरेर अगाडी बढ्ने बताए । उनले आफ्नो कार्यकालमा भूपू गोर्खा सैनिकहरुका समस्या समाधान पहिलो प्राथमिकता रहेको भन्दै अन्य बेलायतमा रहेका नेपाली समुदायका समस्या पहिचान र समाधान गर्न तत्पर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै आचार्यले नेपाल र बेलायतबीचको द्धिपक्षीय, राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध अझै सुदृढ बनाउने र राजदुतावासको भुमिकालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि तथा अतिथि नेपाल राजदुतावास लण्डनका द्वतीय सचीव राम बाबु नेपाल लगायतका अतिथिलाई कार्यक्रमको सुरुवातमा गुल्मेली प्रथम नौमति बाजा बजाएर अतिथि तथा सहभागीहरुलाई स्वागत गरिएको थियो ।
एनआरएन युकेका अध्यक्ष प्रेम गाहाले बेलायतमा एक अनुभवी कूटनीतिज्ञ राजदूत पाएको भन्दै एनआरएन युके नेपाली राजदूतावास लन्डनसँग हातेमालो गरी देश विदेशमा रहेका नेपालीका हक हित र सेवाका लागि गतिशील रहन प्रतिवद्ध रहेको बताए ।
गैर आवासीय नेपाली संघ बेलायतसँगै चार वटा राज्य समन्वय परिषदहरु क्रमशः नर्दन आयरल्याण्ड, वेल्स्, स्कटल्याण्ड र इंगल्याण्डका विशिष्ट व्यक्तित्व, अभियन्ताहरुसहित बुद्धिजिविहरु समेत कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रममा एनआरएन यूके प्रमुख संरक्षक,सल्लाहकारहरु,एनआरएन आइसीसी सल्लाहकार,आइसीसी उम्मेदवारहरु लगायत बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका तीनसय भन्दा बढी प्रमुख तथा प्रतिनिधि सहभागी भएका थिए ।
भव्य रुपमा आयोजना गरिएको कार्यक्रममा सहभागीहरुले राजदुत आचार्यलाई बधाई एवम् कार्यकालको शुभकामना व्यक्त गर्दै उदाहरणीय काम गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा गैह्र आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका सल्लाहकार कुल आचार्य,एनआरएनए यूकेका प्रमुख संरक्षक शेर सुनार,भुपु गौर्खा सैनिकहरुको अधिकारको निम्ती करिब दुई हप्ता लण्डनमा अनशन बसेका सत्या ग्र्हाका नेता धन गुरुङ,पुष्पा राणा घले, एनआरएनए अभियन्ता ललितकुमार न्यौपाने तमुधि युकेका अध्यक्ष हित काजि गुरुङ,यति नेपाली युकेका अध्यक्ष ध्रुब केशी लगायतले सम्बोधन गरेका थिए ।
( पुरा भिडियो हेर्नुस )

एनआरएन युकेका अध्यक्ष प्रेम गाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्षद्धय. गोबिन्द खरेल र नारायण कडेंलको शुभकामना एवम् स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन उपाध्यक्ष रामचन्द्र पोखरेलले गरेका थिए ।







