- शिव भण्डारी
लन्डन– बेलायती प्रधानमन्त्री टेरेसा मेले नेपालका नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना पत्र पठाएकी छन् ।
बेलायती प्रधानमन्त्रीले पठाएको पत्र नेपालस्थित राजदूत रिचर्ड मोरिसले बिहीबार बिहान प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
बेलायती प्रधानमन्त्रीले पठाएको बधाई पत्रमा नेपाल र बेलायतको दुई शताब्दी लामो सम्बन्धको स्मरण गर्दै यसलाई थप समुधुर बनाउन आफू उत्सुक रहेको उल्लेख छ । बधाई पत्रमा प्रधानमन्त्री मेले नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार परिषदको सदस्य रहेकोले सोही मापदण्ड अनुसार काम गर्नेमा आफू विश्वस्त रहेको बताएकी छन् । प्रधानमन्त्री मेले नेपालको आर्थिक विकासको लागि बेलायत सहयोग गर्न तत्पर रहेको जनाएकी छन् ।
गत मंसिरमा भएको निर्वाचनमा बाम गठबन्धन बनाएर मैदामा उत्रिएका ओलीको दल नेकपा एमाले संसदको सबैभन्दा ठूलो पार्टी भएको थियो । ठूलो पार्टीको दलको नेताको हैसियतले उनी गत फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।
ओली प्रधानमन्त्री भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित विश्वका शक्तिराष्ट्रहरुले शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले राजदुत मोरिस मार्फत बेलायती प्रधानमन्त्रीलाई आफूलाई बधाई तथा शुभकामना पठाएको कृतज्ञता ज्ञापन गरेका छन् ।
भेटमा मानवअधिकारप्रति नेपाल सरकारको प्रतिबद्धता दोहोर्याउँदै प्रधानमन्त्री ओलीले सरकार कानुनी राज्यको अनुभूति गराउन प्रतिवद्ध रहेको बताए ।
प्रधानमन्त्री ओलीले संघीय संरचना नेपालको लागि नौलो अनुभव भएकोले यसभन्दा अघि नै संघीयताको अभ्यास गरेका देशहरुका अनुभव नेपाललाई उपयोगी हुने बताए ।






