सुनसरी । एक साताअघि सुनसरीको धरान उपमहानगरपालिका-४ स्थित जङ्गलमा अलग-अलग जेब्रा झोलामा भेटिएका पुरुषको हत्या आफ्नै कान्छी पत्नीबाट भएको खुलेको छ । झापाको दमक नगरपालिका-५ का ४३ वर्षीय दीपक सिग्देलको हत्या उनकै पत्नी अनिता केसीको योजनामा भएको पत्ता लागेको हो ।
गत बुधबार अपराह्न ५ बजे धरान-४ नौकिलोस्थित धरान–भेडेटार सडक खण्डनजिक मानिसको टाउको र खुट्टा भेटिएको थियो । त्यसपछि तालिमप्राप्त कुकुरसहित अनुसन्धानमा खटिएको इलाका प्रहरी कार्यालय धरानको टोली अर्को जेब्रा झोलाभित्र शरीर फेला पारेको थियो ।
बीभत्स अवस्थामा शवका टुक्रा भेटिएको स्थानबाट करिब एक किलोमिटर माथिल्लो भागमा अर्को झोला फेला परेको हो । स्थानीय खड्गबहादुर तामाङ र उनको पत्नी दाउरा खोज्न जङ्गल गएका बेला जेब्रा झोलाभित्र खुट्टा र टाउको देखेर प्रहरीलाई खबर गरेका थिए ।
दीपक सिग्देलको हत्या गरेर शव टुक्रा टुक्रा पारेर फालेको आरोपमा पक्राउ परेकी कान्छि पत्नी अनिता केसी र उनको प्रेमी सरोज भण्डारी ।
त्यसपछि प्रहरीले शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखेर अनुसन्धान थालेको थियो । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र मोरङ तथा सङ्घीय प्रहरी इकाई कार्यालय धरान र प्रदेश १ प्रहरी कार्यालय विराटनगरको संयुक्त टोली खटिएको थियो ।
बहराइनको मास्कले शवको पहिचान
शव भेटिएको झण्डै एक सातासम्म पनि सनाखत हुन नसकेपछि प्रहरीले शवको स्केच बनाएर सबैतिर पठाएको थियो । तर पनि उनको सनाखत हुन सकेको थिएन । कही कतै उनको हुलियासँग मिल्दो प्रकृतिको मानिस हराएको हुलिया निवेदन परेन । अनुसन्धानका क्रममा जेब्रा झोलाभित्र रहेको पाइन्टको गोजीमा बहराइनको मास्क फेला परेको थियो । ‘एसेट प्रोटेक्सन, टटवीर पेट्रोलियम, बिएच मास्क’ लेखिएको मास्क भेटेपछि प्रहरीले श्रम कार्यालय र अध्यागमन कार्यालयलाई बहराइनबाट आएका कामदारको विवरण माग गरेको थियो ।
प्रहरी प्रधान कार्यालयले बहराइन प्रहरीलाई समन्वयको लागि पत्राचार गरेपछि बहराइनको टटवीर पेट्रोलियममा सुरक्षा गार्डका रूपमा काम गर्ने सिग्देल पुस २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपाल आएको खुलेको थियो ।
सिग्देलको खोजतलाश गर्दा उनका बुबा झापा शिबसतासी-११ झिलझिले बस्ने सुरेन्द्र सिग्देल र मृतकको दुई पत्नीमध्ये जेठी निर्मला सिग्देललाई मृतकको शवको स्केच देखाएको थियो । उनीहरूले शवको सनाखत गरेपछि विराटनगर महानगरपालिका–३ स्थित पिपलचोकमा बस्ने कान्छी पत्नीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको थियो । सोधपुछका क्रममा उनले प्रेमी सरोज भण्डारीको मिलेमतोमा पतिको हत्या गरेर शवको टाउको र तिघ्रा जङ्गलमा फालेको स्वीकार गरेकी थिइन् ।
यसरी भएको थियो हत्या
१० महिनाअघि बहराइन दिनेश पुस २० गते १५ दिनको बिदामा नेपाल फर्किएका थिए । २१ गते काठमाडौँबाट बसमा विराटनगर आइपुगेका थिए । पत्नी अनितासँग भेट भएपछि उनीहरू दुवै विराटनगर नोबेल अस्पतालनजिक रहेको फेमेली होटलमा बास बसेका थिए । २२ गते उनीहरू आफ्नो डेरामा फर्किए ।
केही समयपछि सरोज पनि सोही कोठामा आए । दिनेशसँग केही समय सामान्य कुरा गरेपछि सरोजले आफ्नो साथमा लिई आएको गलबन्दीले दिनेशको घाँटीमा कसे । सरोजलाई अनिताले साथ दिइन् । दिनेशको मृत्यु भएपछि हत्या गरी शव सोही कोठामा राखेर दुवै जना सो रात बाहिर बसे । २३ गते बिहान दुवै जनाले स्थानीय पसलबाट शव गिड्नका लागि चार हजार रुपैयाँमा ग्रेन्डर मेसिन, दुई थान जेब्रा झोला र पोलिथिन झोला खरिद गरी ल्याए ।
दुवै जनाले शवलाई ब्यवस्थापन गर्न ग्रेन्डर मेसिन र खुकुरीको सहायताले घाँटी टाउको र दाहिने तिघ्राको भाग अलग बनाए । सोही दिन दिउँसो २ बजे ट्याम्पो भाडामा लिइ इटहरी-धरान हुँदै मानव अंग बरामद भएको स्थानमा लगेर फाले । त्यसपछि सो रात उनीहरूले भेडेटारमा बिताए । त्यसको भोलिपल्ट भने विराटनगर फिर्ता भएका थिए ।
सरोज पेसाले सिटी चालक हुन् । विवाह भई एक छोरी जन्माएपछि सरोज पत्नीसँग डिभोर्स गरेर बसेका थिए । उनकी पत्नी भने हाल माइतीमा नै बस्दै आएकी छन् । दिनेश लामो समयदेखि बहराइनमा बस्ने र आउने-जाने गरेका कारण उनकी कान्छी पत्नी अनिता र सरोजबीचमा प्रेम सम्बन्ध थियो । विगत पाँच-६ महिनादेखि भने उनीहरू पति-पत्नी झैँ बस्न थालेका थिए ।






