काठमाडौं । वरिष्ठ कलाकार जयनन्द लामाको निधन भएको छ । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका- २ धार्पाका लामाको बुधवार बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो ।
लामाको घरमै लडेर मृत्यु भएको बताईएको छ । बिहे भोजमा सहभागी भएर घर फर्किएका उनी गाडीबाट ओर्लने क्रममा लडेका थिए । वि.स.२०१३ सालमा सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा जन्मिएका लामाले लामो समय लोक गीतसगींतको विधामा अध्ययन तथा अनुसन्धान गरेका थिए ।
उनले गाएका र संगीत भरेका थुप्रै गीतहरु नेपाली संगीतबजारमा चर्चित छन् । उनले गाएका ‘कलकत्ते काईँयो’,‘चुँई चुँई चुईँकने जुत्ता’,‘सलल पानी’,‘हेर्दामा राम्रो’,‘सुर्तिको ठुटो’ लगायतका थुप्रै लोकगीत लोकप्रिय छन् ।
सर्जक तथा स्रष्टाहरुले उनको निधनले नेपाली लोकगीत सगींतमा अपूरणीय क्षति पुगेको बताएका छन् । गायनसगैं लामा अभिनयमा पनि सक्रिय थिए । उनले दर्जनौँ चलचित्रमा अभिनय तथा निर्माण गरेका छन् ।
उनले ‘मनको बाँध’,‘छक्कापञ्जा’ लगायतका चलचित्रमा अभिनय गरेका छन् । पछिल्लो समय लामाले टेलिश्रृङ्खला ‘हल्का रमाईलो’मा अभिनय गरिरहेका थिए ।






