केही महिनादेखि रेष्टुरेण्टमा ३ किशोरी बन्धक : प्रहरीद्धारा उद्धार

धनगढी ।  कैलालीको धनगढीस्थित एक रेस्टुरेन्टबाट तीन किशोरीको उद्धार गरिएको छ ।

धनगढी उपमहानगरपालिकास्थित रातोपुलमा रहेको टिनटिन रेन्टुरेन्ट एन्ड बारबाट तीन किशोरीको उद्धार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार केही महिनादेखि बन्धक बनाएको गुनासोपछि उनीहरूको उद्धार गरिएको हो ।

‘काम गराउने भनेर ल्याएको तर तलब पनि नदिएको, बाहिर निस्कन पनि नदिएको गुनासो आएको थियो,’ डिएसपी जोशीले भने, ‘सोही गुनासोका आधारमा तीन जनाको उद्धार गरिएको छ। रेस्टुरेन्ट सञ्चालकसहित तीन जनालाई पक्राउ पनि गरिएको छ ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले उद्धार गरिएका किशोरी र पक्राउ परेका अन्य तीन जनासँग सोधपुछ भइरहेको बताए ।