काठमाण्डौ । कपिलवस्तुमा एक महिलाको हत्या भएको छ । जिल्लाको यशोधरा गाउँपालिका वडा नं.८ निवासी अन्दाजी २१ बर्षीया रहिसुन्निसा मुसलमानको हत्या भएको हो । उनलाई झुन्डाई मारेको आरोपमा श्रीमान र ससुरा पक्राउ परेका छन् ।
मृतक मुसलमानको लाशलाई गाडी सतगत गरेको भन्ने मौखिक सूचनाको आधारमा उक्त घटनामा संलग्न रहेका मृतकको श्रीमान २२ बर्षीय मोहम्मद नसिम अलि भाट मुसलमान र निजको बुवा ५० बर्षीय अब्बास अलि भाटा मुसलमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रहरीका अनुसार ती महिला २ महिनाकी गर्भवती रहेकी थिईन् । उनको मृत्यु शकांस्पद रहेकोले प्रहरीले शव उत्खनन गरी पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको अनुसन्धान टोलीले निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडी बढाएको प्रहरीको भनाई छ । शव उत्खननको लागि जिल्ला अस्पताल तौलिहवा कपिलवस्तुका डा.जावेद अख्तर खान, सहायक जिल्ला सरकारी न्यायाधीवक्ता खडानन्द पोख्रेल र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्र.ना.उ. धर्मराज भण्डारीको कमाण्डमा एसओएस सहितको टोली खटिएको थियो ।
के कारणले हत्या गरिएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।






