काठमाडौं । कोभिड-१९को संक्रमण बढ्न थालेपछि काठमाडौंमा निजी अस्पतालबाट पनि खोप लगाउन थालिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार ६ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप उपलब्ध गराउने व्यवस्था मिलाइएको हो ।
काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला र नोबेल अस्पताल सिनामंगलबाट कोभिडविरुद्धको खोप निःशुल्क लगाउन पाइने स्वास्थ्य कार्यालय प्रमुख शम्भु काफ्लेले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार भेरोसेल, कोभिशिल्ड र एस्ट्राजेनेका खाेप लगाइँदै आएकाे छ । खाेप बिहान १० बजेदेखि ३ बजेसम्म लगाइँदै आएकाे छ । सरकारले काेभिडविरुद्धकाे खाेप अनिवार्यकाे घाेषणा गरेपछि खाेप लगाउनेकाे भीड बढेकाे हाे । खाेप नलगाएकालाई सार्वजनिक सेवामा निषेधकाे घाेषणा कार्यान्वयनमा ल्याउने सरकारकाे तयारी छ ।






