डा. सिके राउतलाई खुला पत्र ,
तपाई किन बुझ्नुहुन्न ? हजारौं मधेशी युवाको चाहना । हामीलाई मधेशी हुनुमा धेरै गर्व छ, तर त्यो भन्दा पनि बढी नेपाली हुनुमा र हुनु पनि पर्यो । तर, तपाईं कहिले नेपाल आमालाई रण्डी भन्नु हुन्छ त कहिले पहाडी दिदी बहिनीहरुलाई, आखिर किन त ? के उनीहरु जस्ता हाम्रा दिदी बहिनी छैनन त? के पहाडीहरुसँग लेख्ने र बोल्ने आँट छैन त ? पक्कै पनि छ, तर तपाईंको जस्तो संकीर्ण सोच छैन वहाँहरुको ।
नेपालमा संघीयता जरुरी छ र हुनुपर्छ । देश विकाश एवम सम्पुर्ण उत्पीडितहरुको अधिकारको सुनिश्चितताको लागि संघीयता जरुरी छ । स्व. गजेन्द्र नारायण सिंहले सुरु गर्नु भएको संघीयताको मुद्दा आज देशको मुद्दा बनेको छ र हामी धेरै आगाडि पनि बढिसकेका छौ । तपाईको स्वतन्त्र मधेशको मागले गर्दा संघीयता लाई पनि धेरै असर परेको छ ।
मलाई एउटा कुरा जान्ने ईच्छा छ धेरै दिन देखि कि तपाईं को हुनुहुन्छ ? तपाईंको राजनीतिक ईतिहास के छ त ? तपाईको राजनीतिक अनुभव के छ त ?
मैले थाहा पाए अनुसार तपाई पि.एच.डी (विद्यावारिधि) गर्नुभएको छ र बिदेशमा वैज्ञानिक हुनुहुन्थ्यो । हामीलाई तपाईको शैक्षिक बौद्धिकतामा पनि धेरै गर्व लाग्छ कि हाम्रो मधेशमा यस्ता पनि बौद्धिकता भएका व्यक्तिहरु छन् भनेर, तर घृणा छ तपार्इंको स्वतन्त्र मधेशको संकिर्ण सोचले गर्दा ।
अर्को कुरा, के तपाईंलाई कसैले झट्ट हेर्दा मधेशी भन्न छन् त ? के तपार्इंको हुलिया छ त मधेशी जस्तो ? पक्कै भन्दैनन् । किनकी तपाई मधेशी हुनु नै हुन्न । नामको पछाडि राउत जोडिएर मात्र मधेशी हुन्न ? हामी मधेशीको बेग्लै पहिचान छ, तर त्यो पहिचान तपाईमा झल्कँदैन ।
२÷३ बर्ष पहिला बिदेशबाट आएर स्वतन्त्र मधेशको मागलाई आगाडि बढाएर नेपाल वा मधेशको राजनीतिक वृतमा आफुलाई चर्चित बनाउन सफल हुनुभयो र मधेशका कर्णाधारहरु (मेडिकल, ईन्जिनियरिङ र राजनीति क्षेत्रमा रहेका) लाई आफूतिर आकर्षित गर्नुभयो । आफू चाहीँ नेता हुने बिशेष शक्तिको ईशारामा बिभिन्न राजनीतिक अराजक गतिबिधिहरु गर्न ती युवाहरुलाई प्रयोग गर्नाले के ती युवाहरुको भबिश्य उज्जवल छन त ?
अहिलेको अवस्थामा मधेश स्वतन्त्र भई नै हाल्यो भन्ने कहाँ पढ्छन्, त्यहाँका बालबालिकाहरु, कहाँ उपचार हुन्छ हाम्रा मधेशी जनताहरुको, कुन सडक भएर हामी छिटो भन्दा छिटो गन्तव्यमा पुग्छौँ । के छन त हामी सँग राम्रा विद्यालय, अस्पताल, सडक पक्कै छैन । के तपाईंलाई मधेशको मसीहा बनाउन मात्रै स्वतन्त्र मधेश हुनुपर्यो ? तपाईं याद गर्नुस् त कि जुन बेला तपार्इं स्वतन्त्र मधेशको कुरा गर्नु भो, जुन बेला तपाईं जेलमा जानु भो, त्यो समयको जनसमर्थन र आजकोमा कति फरक छ । आखिर किन घट्यो त ? विचार गर्नुुस् ।
के तपार्इं वा तपार्इंको परिवार एवम् स्वतन्त्र मधेश गठबन्धनका सदस्यहरुले नेपाली नागरिकता त्याग्नु भएको छ ? वा जलाउनु भएको छ ? यदि छैन भने जलाउने वा त्याग्ने हिम्मत छ त ?
स्वतन्त्र मधेशको कुरा गरेर नेपाली भनेर पहाडी समुदायलाई गाली गर्नु हुन्छ यसको असर के हुन्छ भन्ने थाहा छ त? तपाईंको यो संकीर्ण सोचले गर्दा काठमाडौँमा बसेर दैनिक जीवनजीविका चलाईरहेका मधेशीहरु, विभिन्न कलेजमा पढिरहेका भाइबहिनीहरु के असर पर्छ भनेर सोच्नु भएको छ ?
हम्रो तर्फबाट हजुरलाई बिनम्र अनुरोध छ कि, ‘यो स्वतन्त्र मधेशको आन्दोलनलाई रोकेर त्यस आन्दोलनमा भइरहेको खर्च मधेश विकाशमा लगाउनुस् । मधेशमा सडक, विद्यालय, अस्पताल बनाउनुस् तपाई आमरुपी मधेशको नेता बन्न सक्नु हुन्छ, मधेशको मसीहा बन्न सक्नु हुन्छ ।’
काम गर्नुस, अराजकता न फैलाउनुस, विकाशमा केन्द्रीत हुनुुस् ।
धन्यबाद ।
विकास कुमार ठाकुर
अध्यक्ष
हिन्दु युवा जनशक्ति संघ–नेपाल
काठमाडौँ ।
ठाकुरको डा. सिके राउतलाई खुला पत्र






