महोत्तरीमा १७ वर्षीया लक्ष्मी मृत अवस्थामा भेटिइन्

महोत्तरी । मंसिरको पहिलो साता महोत्तरीको एकडारा गाउँपालिका–६ की चन्चलाकुमारी यादव सलले पासो लगाइरहेको अवस्थामा मृत अवस्थामा भेटिइन् । २३ वर्षीया चन्चलाको मृत्युमा आत्महत्या हो कि आत्महत्या दुरुत्साहन भन्ने बिषयमा कुनै पहिचान हुन सकेन । प्रहरीले पोष्टमार्टमपछि आत्महत्या नै भएको ठहर गर्दै मृतक चन्चलाको नामलाई आत्महत्या गर्नेको सूचीमा समावेश गर्‍यो ।

त्यसको दुई दिन नबित्दै अर्थात ९ मंसिरमा मनरासिस्वा नगरपालिका–२ कि लक्ष्मीकुमारी चौरासिया पनि घरभित्रै मृत अवस्थामा भेटिइन् । १७ वर्षीया लक्ष्मीकुमारी घरको धुरी बलोमा सलले पासो लगाएको अवस्थामा मृत भेटिएकी थिइन् । चौरासियाको मृत्युलाई पनि आत्महत्याकै सूचीमा नाम सूचीकृत गरियो ।

तुरुन्तै दुई दिनपछि जलेश्वर खैरागाउँकी १७ वर्षीया अमृताकुमारी साह पनि मृत अवस्थामा भेटिइन् । पंखामा सलले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी अमृताको पोष्टमार्टमपछि आत्महत्या नै भएको ठहर गरियो । उनीहरूको जस्तै आत्महत्याको सूचीमा राखिएका एक महिनाको अवधिमा १८ जना पुगेका छन्, जसमध्ये सात जना पुरुष र ११ जना महिला छन् । धेरैजसो अधबैंसे महिला छन् । महोत्तरीमा विगतका तथ्यांकलाई समेत केलाउँदा महिलाहरू नै किन आत्महत्या रोजिरहेका छन् भन्ने चिन्ताको विषय बनेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार हरेक दुई दिनमा एक महिलाले आत्महत्या गरिरहेको छन् । धेरैजसो गरिबीको कारणले मृत्युवरण गरिरहेको प्रहरी अधिकारीहरू बताउँछन् । तर, आत्महत्यापछि घटनाको गहिराइसम्म पुग्न प्रहरीले अनुसन्धान गरिरहेको बताए पनि अहिलेसम्म आत्महत्यामा दुरुत्साहनको आरोपमा कोही पक्राउ परेका छैनन् । यसले झन् महिला हिंसाका घटनाहरूमा वृद्धि भइरहेको मानवअधिकार सम्बन्धी मुद्दामा खबरदारी गर्ने संस्था इन्सेकको ठहर छ । इन्सेक नेपालका प्रदेश प्रतिनिधि अजय साह गरिबी र जीविकोपार्जनका लागि समस्या बन्दा कतिपयले आत्महत्याको बाटो रोजेतापनि धेरैलाई आत्महत्या गर्न बाध्य पारिने गरेको बताउँछन् ।

विवाहित महिलाहरूको हकमा भने काहिँ न काहिँ आत्महत्या दुरुत्साहन नै जोडिएको जानकारहरू बताउँछन् । दाइजो र छोरी जन्मेकै आधारमा कतिपय महिलाको मृत्युको कारण बनेको छ । तर, आत्महत्या गरिएका हरेकलाई प्रहरीले थप अनुसन्धान गर्ने बताए पनि अहिलेसम्म कुनै घटनाको सत्यतथ्य बाहिर आउन सकेका छैनन् । समाजशास्त्रीहरूका अनुसार आत्महत्या बहिष्करणको नै परिणाम हो ।

दाइजो, सामाजिक कुरीति तथा अन्धविश्वास, बेरोजगार, गरिबीको कारणले पनि आत्महत्या गर्नेको संख्या बढेको हो । मृत्युवरण गरिरहेका हुन्छन् । समाजशास्त्रीय दृष्टिकोणमा पुरुषभन्दा महिला बढी भावुक र संवेदनशील स्वभावका कारण आत्महत्याको छिटो निर्णय लिन पुग्छन् ।