एमाले सभासद्लाई ओलीको निर्देशन

Chairman of CPN (UML) KP Sharma Oli delivers remarks during a program organize on the occasion of the 37th memorial day of the founder general secretary of the Communist Party of Nepal Pushpa Lal Shrestha held on Thursday at Kritipur. Photo: Kumar Shrestha, RSS

काठमाडौँ, २२ भदौ । नेकपा (एमाले) संसदीय दलले संविधान जारी गर्ने अभियानमा दृढतापूर्वक उभिएर सहयोग गर्न सबै सभासद्लाई निर्देशन दिएको छ । संविधानसभा भवन नयाँबानेश्वरमा आज साँझ बसेको संसदीय दलको बैठकले संविधानसभाभित्र वा बाहिर रहेका सबै राजनीतिक दललाई बन्द हड्ताललगायत कुनै पनि कार्यक्रम सञ्चालन नगर्न अपिल गर्ने निर्णय गरेको छ ।
संसदीय दल बैठकले राजनीतिक दलहरुलाई वार्ताको माध्यमबाट समाधान खोज्न आह्वान गर्ने निर्णयसमेत गरेको छ ।
यसअघि बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सबैको चित्त बुझाएर संविधान जारी गर्ने विषय अत्यन्तै कठिन भएकाले धेरैभन्दा धेरै पक्षलाई समेटेर संविधान जारी गर्नुको विकल्प नरहेको बताउनुभएको थियो ।
उहाँले भन्नुभयो, “संविधान विधेयकको मस्यौदामा सबैको चित्त बुझ्ने कुरा सम्भव भएन, मैरै पनि कतिपय विषयमा चित्त बुझेको छैन, तर अब संविधान जारी गर्नुको विकल्प छैन ।” संविधान जारी भएलगत्तै तराईलगायत आन्दोलनरत क्षेत्रमा गएर जनतालाई संविधानका बारेमा प्रस्ट पार्न र आन्दोलनकारीले प्रस्तुत गरेको भ्रम चिर्ने अभियानका कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै उहाँले एमालेको अनुशासित सभासद् र कार्यकर्ताका कारण आफूले नेपाली राजनीतिमा गौरव महसुस गरेको बताउनुभयो ।