कल्पना त्रिपाठी
लन्डन
“अपेक्षा”
बाचुन्जेल हाँसी खुसी, सयलले पालिदिने !
हर घडी साथ रही, एक्लो पनलाई फालिदिने !!
कोही आउँछ, आउँदैछ या आउँछ सायद !
नाइँ भने नि सारा खुसी, पोल्टा भरि हालिदिने !!
हृदय भरि दया प्रेम, करुणाले छा’को !
बोली कडा भएपनि, मायालु मन भाको !!
दौरा सुरुवाल कोट लाउँछौ कि, दारी जुंगा पालेको ?
कहाँ छौ तिमी उ जुनी मा, मेरो ऋण खाको ?
भेटे जति मठ मन्दिर, देउरालीलाई भाकिसकेँ !
विन्ति मेरो चाँडै आऊ, कुर्दाकुर्दै थाकिसकेँ !!
बाटो हेरि बसिरहेछु, सपनाहरु बुनी !
तिमी आउँदा स्वागत गर्न, साथी सङ्गी डाकिसकेँ !!
जूनसँगै खेल्ने आशा, फूल जस्तै फुलि !
तिमीसँग हात समाइ, डाँडा पाखा डुलि !!
प्रकृति लाई साक्षी राखि, समर्पित भई !
तिम्रै काखमा निदाउँथेँ, व्यथा पिर भुलि !!
असिमित माया बोकी, आउँछौ भन्ने आशमा !
आइ नपुग्दै दुख्यो मुटु, विछोडको त्रासमा !!
कतै मैले भुल गरेँ कि, तिमी लाई कुरी !
खोजी थाकेँ नभएको, ठाउँ र निवासमा !!
———–0~0
कल्पना त्रिपाठी समसामयिक विषयमा कलम चलाउने लन्डन नेपाल न्यूजकी नियमित स्तम्भकार हुन् ।
समाजसेवी तथा सामाजिक अभियन्ता त्रिपाठी ‘डाइरेक्टर अक्स् ब्रिज इन्टरनेशनल कलेज नेपाल र लण्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितीमा पूर्व-महासचिव समेत हुन् ।






