राष्ट्रसंघीय महासचिव बानको भ्रमण उत्तर कोरियाद्वारा रद्द

सोल, ६ जेठ । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनको उत्तर कोरिया भ्रमण उत्तर कोरियाले एकतर्फी रुपमा रद्द गरेको जानकारी दिएको छ । उहाँलई भ्रमणका लागि उत्तर कोरियाले यसअघि आमन्त्रण गरेकोमा बुधबार आएर अकस्मात सो भ्रमण आफैले रद्द गरेको जानकारी दिएको हो । महासचिव बानले उत्तर कोरियाका केही औद्योगिक क्षेत्रको भ्रमणको चासो राख्नुभएको थियो । सो भ्रमणका लागि उत्तर कोरियाले उहाँलाई आमन्त्रण पनि गरेको थियो ।
विश्वको लगभग एक्लो कूटनीति मानिएको सो देशको भ्रमणका लागि महासचिव बानले समय तय गर्नुभएको तर अकस्मात बुधबार आएर उत्तर कोरियाले नै सो निर्णय गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यस घटनाबाट आफु निकै दुःखी बनेको महासचिव बानले बताउनुभएको छ । उहाँले पनि आफुले सो समाचार कूटनीतिक स्रोतबाट थाहा पाएको बताउनुभएको छ ।
आफुले आफ्नो भ्रमण बारेकोे समाचार कूटनीतिक माध्यमबाट थाहा पाएको भन्दै यसले आफुलाई निकै दुःखी बनाएको उहाँको प्रतिक्रिया छ ।
यसै हप्तामात्र महासचिव बानले उत्तर कोरियालाई कुनैपनि हिसाबले सैनिक तनाव बढाउने वा कोरियाली प्रायद्वीपलाई अस्थिर बनाउने काम नगर्न सार्वजनिक रुपमा नै आग्रह गर्नुभएको थियो ।
सो आग्रहपछि उत्तर कोरियाले कुनै प्रतिक्रिया भने दिएको थिएन । उत्तरले केहीदिन अघि एक पनडुब्बी क्षेप्यास्त्र परीक्षण गरेको थियो ।
सो क्षेप्यास्त्र परीक्षणको सर्वत्र विरोध भएको थियो । त्यसपश्चात नै महासचिव बानले उत्तरको भ्रमणका लागि चासो देखाउनुभएको थियो ।
महासचिव बानले आफ्नो ट्वीटर अकाउन्टमा भन्नुभएको छ– मैले अकस्मात उत्तर कोरियाले आफ्नो निमन्त्रणा रद्द गरेको समाचार कूटनीतिक माध्यमबाट थाहा पाएँ र कासेङ क्षेत्रको मेरो भ्रमणको कार्यक्रम रोकिएको छ ।
दक्षिण कोरियाका पूर्व विदेशमन्त्री समेत रहनुभएका महासचिव बानले उक्त भ्रमण के कारणले रद्द गरिएको हो भन्ने बारेमा भने कुनैपनि जानकारी नदिइएको उहाँले उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ– उत्तर कोरियाको यो निर्णय वास्तवमै दुःखलाग्दो छ ।
उहाँले भन्नुभएको छ– म संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले यो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु कि मैले उत्तर कोरियालाई विश्व समुदायसँग कामगर्ने वातावरण निर्माण गर्ने काममा लागि नै रहनेछु ।
कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्वको स्थापनाका लागि म लागि नै पर्नेछु र उत्तर कोरियाका लागि एक्लिएर नभई विश्व समुदायसँग कामगर्न आवश्यक छ– महासचिव बानको भनाई छ ।
महासचिव बानको अकस्मात भ्रमणको आमन्त्रण रद्द गरेकोप्रति दक्षिण कोरियाको एकीकरण मन्त्रालयले पनि दुःख व्यक्त गरेको समाचारमा जनाइएको छ ।
महासचिव बानले यही बिहीबार उत्तर कोरियाको सो औद्योगिक क्षेत्रको भ्रमण गर्नुहुने कार्यक्रम रहेको थियो ।
सो क्षेत्र उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रको नजिक पर्दछ । सो क्षेत्र दक्षिण कोरियाको सीमाभन्दा १० किलोमीटर मात्र भित्र पर्दछ ।