काठमाडौं, ६ बैशाख । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप ट्वेन्टी–२० छनोटका लागि २२ नेपाली खेलाडी बन्द प्रशिक्षणमा बोलाएको छ । यो टोलीका सबै खेलाडीले भारतमा केही अभ्यास खेलको अवसर पाउनेछन् । त्यसपछि १४ खेलाडीको अन्तिम टोली बनाएर युरोप लैजाने क्यानको तयारी छ । राष्ट्रिय टोलीका नियमित खेलाडीहरुसँगै मेहबुब आलम, राजेश पुलामी, महेश क्षेत्री, अनिल मण्डल, पृथु बास्कोटा, सिद्धान्त लोहनी, सौरभ खनाल र हरिशंकर पनि २२ जनाको प्रारम्भिक टोलीमा समावेश छन् ।
तर, नरेश बुढाऐर, राहुल विक, रामनरेश गिरी र अमृत गिरीले भने टोलीमा ठाँउ बनाउन सकेनन् । टोली बन्द प्रशिक्षणका लागि जुन महिनाको पहिलो साता भारत जानेछ । अर्को वर्ष भारतमा आयोजना हुने विश्वकप टी–२० क्रिकेटको लागि एसोसिएट राष्ट्रहरुको छनोट प्रतियोगिता यही जुलाई ९ तारिखदेखि आयरल्यान्ड र स्कटल्यान्डको संयुक्त आयोजनामा हुँदैछ ।
सोही छनोट खेलको तयारीस्वरुप नेपालले भारतमा अभ्यासका साथै केही मैत्रीपूर्ण खेल खेल्नेछ । ट्वेन्टी–२० विश्वकप छनोटलगत्तै नेपालले आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्नेछ । स्कटल्यान्डविरुद्ध दुईओटा एकदिवसीय खेलको तयारीमा रहेको नेपालले त्यसपछि भूकम्पपीडितको सहयोगार्थ मलेसियामा एउटा च्यारिटी खेल खेल्नेछ ।
विश्वकपका लागि २२ खेलाडी बन्द प्रशिक्षणमा






